काबुलको एक मस्जिदमा बम विस्फोट हुँदा ५० जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी स्थित एक मस्जिदमा बम विस्फोटन हुँदा ५० जनाको मृत्यु भएको छ ।
मस्जिदका प्रमुखले उक्त विस्फोटमा परी ५० भन्दा धेरै मानिसको मृत्यु भएको जानकारी गराएका हुन् । यद्यपि तालिबान सरकारको गृह मन्त्रालयका प्रवक्ता बेसमुल्लाह हबीबले भने यो आक्रमणमा १० जना मानिसको मृत्यु भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जानकारी गराए शुक्रवार दिउँसो काबुलको पश्चिमी क्षेत्रमा रहेको खलिफा साहिब मस्जिदमा उक्त विस्फोट भएको हो ।
मस्जिदमा सयौँ मानिसहरू नमाजको लागि जम्मा भएका थिए । पछिल्लो समय मुसलमानहरूको पवित्र महिना रमजानको समयमा एकपछि अर्को बम विस्फोटका घटनाहरू बढिरहेका छन् ।
गत साता मात्रै अफगानिस्तानको कुन्दुज प्रान्तमा पनि यस्तै विस्फोटमा परी बालबालिकासहित ३३ जनाको मृत्यु भएको थियो।