स्थापितलाई मतदाताको सुझाव– चुनाव जितेपछि पनि आउँदै गर्नुहोला – Nepal Press

स्थापितलाई मतदाताको सुझाव– चुनाव जितेपछि पनि आउँदै गर्नुहोला

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् । चुनावी घोषणापत्रसहित उम्मेदवारहरु आफ्नो घरदैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई विजयी भएपछि पनि घरदैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझाव दिए ।

घरदैलो कार्यक्रमको सिलसिलामा काठमाडौँ महानगरपालिकामा  एमालेका मेयर–उपमेयरका उम्मेदवार वडाध्यक्ष र सदस्यसहित वडा–४ धुम्बाराही पुग्दा त्यहाँका मतदाता निकै उत्साहित देखिए । झण्डै २० वर्षअघि एमालेकै तर्फबाट काठमाडौंको मेयर चलाएका केशव स्थापित आफ्नाे घरदैलोमा पुग्दा धेरै मतदाताले उनीसँग काठमाडौंमा थप विकासको अपेक्षा गरेको बताए ।

निर्भिक स्वभावकका स्थापित पूर्वकायममुकायम प्रधानन्यायशीध दीपकराज जोशीको निवासमा पुग्दा अवकाश जीवन बिताइरहेका जोशीले उनलाई न्यानो स्वागतमात्रै गरेनन्, जीतको शुभकामनासमेत दिए ।

‘केशव मेरो पुरानो साथी हो, मत माग्दै मेरो घरदैलोमा आइपुग्दा म खुसी छु’, उनले भने, ‘केशव विकासप्रेमी नेता हो । काठमाडौं थप समृद्ध बनाउन केशवलाई जीतको शुभकामना छ ।’

जोशीले त्यसो भन्दै गर्दा स्थापितले पनि आफ्नै शैलीमा जोशीलाई अँगालोमा बाँधे र भने, ‘फोन गर्न भ्याएको थिइनँ, आज आफै आए ।’

स्थापितले आफ्नै छेउमा उभिएकी उपमेयर उम्मेदवार सुनिता डंगोललाई देखाउँदै थपे, ‘एमालेले अनुभवी र युवा पुस्ताको मिश्रित टिम उठाएको छ । मसँग अनुभव छ, सुनितासँग युवा पुस्ताको साथ । काठमाडौं थप व्यवस्थित र आहा भन्ने बनाउने योबाहेक अर्को टिम छ त ?’

हाउभाउसहितको स्थापितको अभिव्यक्तिपछि जोशीले आफ्नै पाराको मुस्कानसहित डंगोल र वडाका टीमलाई पनि शुभकामना भने । जोशीमात्रै होइन धुम्बाराहीको महालक्ष्मी टोलका मतदाता पनि उत्साहित बने । महालक्ष्मी टोल सुधार समितिका अध्यक्ष शिव बस्नेतले स्थापितसहितको टोली आफ्नो घरदैलोमा आइपुग्दा विकास पनि आफ्नै टोलमा आएको अनुभूति भएको प्रतिक्रिया दिए । उनले २० वर्ष पहिलाको स्थापितको विकासप्रतिको मोहको व्याख्या यसरी गरे, ‘पहिला पनि तपाईंको मेयरको कार्यकाल एक दिनमात्रै बाँकी हुँदा यहाँको बाटो खोलिदिनु भएको थियो । तपाईंबाट हामीले अझै पनि यस्ता विकासका कामको अपेक्षा गरेका छौं । तपाईंबाट विकास निर्माणको काम थप अघि बढ्नेमा आशावादी छौं ।’

बस्नेत जस्ता युवाको अपेक्षालाई पूरा गर्ने बाचा गर्दै स्थापितसहितको टोलीले झण्डै तीन घण्टा घरदैलो गर्दा मतदाताले उनीलाई मिश्रित सुझाव दिए । धुम्वाराहीकै मतदाता प्रोफेसर दुर्वेस रेग्मीले निर्वाचन जितेपछि पनि जनतासँगको सहकार्यलाई बेवास्ता नगर्न सुझाव दिए । ‘विजयी भएपछि पनि तपाईंले यहाँको विकासका लागि अनुभवी र चाहिने व्यक्तिसँग सल्लाह लिन नबिर्सिनू’, उनले भने, ‘तपाईंसँग मेरो पुरानो चिनजान हो । विकासका लागि धेरै अपेक्षा गरेका छौं । विजयीको शुभकामना छ ।’

धुम्बाराहीकै मतदाता प्राध्यापक विजय खरेलले स्थापित बहुप्रतिभाशाली व्यक्ति भएकै कारण अघिल्लो कार्यकाल सफल भएको स्मरण गराउँदै भने,  ‘उहाँले पहिलो कार्यकालमा बाटो निर्माणलगायतका सन्दर्भमा निकै राम्रो गर्नुभएको थियो । उहाँ काठमाडौं महानगरपालिकाका लागि चाहिने मेयर हो ।’

घरदैलो कार्यक्रममा प्रदेश सांसद नारायण सिलवालसहित धुम्बाराही पुगेका स्थापितले विकास भएको ठाउँमा भन्दा पनि विकास हुन बाँकी रहेको ठाउँमा घरदैलो गर्ने भन्दै आफ्नै पारामा भने, ‘केशव भनेको बिग्रेको ठाउँ बनाउने मान्छे हो । म घरदैलोमा मात्रै यहाँ आएको होइन । मेयर निर्वाचित भएपछि मैले कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ भनेर हेर्न आएको हुँ । मलाई विकास भएको होइन, विकास गर्न बाँकी ठाउँ देखाउनुस् ।’

बाजागाजासहितको टोली मतदातासँग मत माग्दै हिँड्दा धेरैले स्थापित र डंगोलसँग सेल्फी खिचेका दृष्यहरु पनि देखियाे । कतिपय मतदाताले केशव स्थापितलाई नजिकबाट नदेखे पनि उनको विकासबारे प्रशस्तै सुनेको बताए । प्रज्वल खड्काले काठमाडौं महानगरपालिकाको वडा–४ मा अन्य वडाको तुलनामा विकास भएको भन्दै थप विकासका लागि विकासप्रेमी नेता नै आवश्यक हुने बताए ।

‘जितेर आउने जनप्रतिनिधिले बाटो, पानी, ढल जस्ता विषयमा बढी ध्यान दिनुपर्छ’, उनले भने, ‘अहिले घरदैलोमा आउने मत माग्ने अनि हामीले मत दिने भनेको उहाँहरुले विजयी भएपछि हामीलाई विकास दिने हो । हामी मत दिन्छौँ । उहाँहरुले विकास दिनुहोला भन्ने सुझाव छ ।’

जनतासँग प्रत्यक्ष जोडिएको पार्टी भएकाले एमाले काठमाडौं महानगर कमिटीले दैनिक बिहान–बेलुका घरदैलो कार्यक्रम गर्ने महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए । ‘हामी मतदाताका बीचमा जान्छौं’, उनले भने, ‘जीत हाम्रो पक्षमा पार्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर