रामचन्द्र पौडेलको दाबी- २३ सिटमा खुम्चिएको कांग्रेसले गठबन्धनका कारण ९३ सिट ल्याउँदैछ – Nepal Press

रामचन्द्र पौडेलको दाबी- २३ सिटमा खुम्चिएको कांग्रेसले गठबन्धनका कारण ९३ सिट ल्याउँदैछ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको विरोध नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबार गृहजिल्ला तनहुँमा नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल ट्रेड युनियन कांग्रेसले अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले गठबन्धन गर्दा सजिलै बहुमत ल्याउने दाबी गरे ।

‘कांग्रेसले गरेको गठबन्धनलाई अन्यथा नलिनु होला । कांग्रेसले बहुमत ल्याउनलाई गठबन्धन गरेको हो । गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुन्छ,’ उनले भने ।

गठबन्धनविरोधी गतिविधिमा लाग्दा प्रतिगमन पक्षधरलाई समर्थन हुने उनको भनाइ छ । २३ सिटमा खुम्चिएको कांग्रेसलाई ९३ सिटमा पुर्‍याउँन गठबन्धनले सघाउने उनले बताए । संविधानको रक्षार्थ गठबन्धन अपरिहार्य रहेको नेता पौडेलको भनाइ छ । उनले गठबन्धनलाई बलियो बनाउनेतर्फ लाग्न जिल्लाका नेता कार्यकर्तालाई सुझाव पनि दिए ।

‘देशलाई स्थायित्वमा लैजान आवश्यक छ । नेपाली कांग्रेस नेतृत्वमा संविधानको रक्षा भएको छ,’ उनको जिकिर छ । रोजगारी र आम्दानीलाई सार्थक बनाउन तीनै तहको सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए ।

यद्यपि, तनहुँमा सत्ता गठबन्धन दलको निर्णयअनुसार स्थानीय निर्वाचनका लागि गठबन्धन हुन सकेन । आ–आफ्नै तरिकाले दलहरूले गठबन्धन गरेर निर्वाचनको तयारी गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “रामचन्द्र पौडेलको दाबी- २३ सिटमा खुम्चिएको कांग्रेसले गठबन्धनका कारण ९३ सिट ल्याउँदैछ

  1. काँग्रसले ९३ ? यी वाजेले दिउसै सपना देख्न थालेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर