आईजीपी नियुक्ति विवाद- ‘प्रहरीले त्यत्तिकै ठूला औँठी र माला लाएका होइनन्’ – Nepal Press

आईजीपी नियुक्ति विवाद- ‘प्रहरीले त्यत्तिकै ठूला औँठी र माला लाएका होइनन्’

काठमाडौं । वरीयता मिचेर १६ महिना जुनियर धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी बनाउने सरकारको निर्णयसँगै टिकाटिप्पणी सुरू भएको छ । नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले आईजीपी ‘मौकामा चौका हान्न सक्ने’ को मात्र हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले नेपाल प्रहरीको सर्वोच्च पद कर्मको फलभन्दा भाग्यको फलमा बढी निर्भर हुने भएकाले प्रहरी अधिकृतहरू धार्मिक हुन थालेको टिप्पणी गरे ।

‘प्रहरीले त्यत्तिकै हरेक औँलामा औँठी र घाँटीमा ठूल्ठूला माला लगाएका हैनन्’, भण्डारीले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘मैले व्यक्तिको कुरा गरेको होइन, समग्र प्रवृत्ति नै यस्तै छ ।’

उनले प्रहरीहरू राजनीतिक दलको भागबण्डामा पर्न थाल्नु दु:खद भएको बताए ।

‘हिजो एउटा व्यक्तिले कुनै राजनीतिक दललाई प्रभावमा पारेर अगाडि बढ्यो । आज अर्कोले । प्रहरी, प्रहरी संगठनको नभएर राजनीतिक दलका हुन थाले । जसले मौकामा चौका हान्न थाल्यो, ऊ नै सफल मान्न थालियो’, भण्डारीले भने ।

वरिष्ठता मिचेर आईजीपी नियुक्त गरिरहँदा नयाँ पुस्ताले माथिल्लो पदमा पुग्ने बाटोबारे के सिक्छ भन्दै उनले प्रश्न गरे ।

‘आज प्रहरी निरीक्षक रहेको व्यक्तिले भोलिका दिनमा व्यवसायिक काम गर्ला कि राजनीतिक दलको पछि लाग्ला ?’, भण्डारीको प्रश्न छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर