माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश – Nepal Press

माओवादी केन्द्र दोलखाका संस्थापक नेता श्रेष्ठ एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) दोलखाका संस्थापक नेता जगतबहादुर श्रेष्ठ नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

नेकपा एमाले गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले नेता श्रेष्ठलाई पार्टीमा स्वागत गरे ।

देशलाई बचाउन र जनताको हितमा काम गर्न आफूले माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेको नेता श्रेष्ठले बताए । उनले माओवादी केन्द्र भन्ने पार्टी लुटेराहरूको पार्टीमा परिणत भएको भन्दै एमालेले मात्रै जनताको चाहना अनुसार काम गर्न सक्ने बताए ।

यता, एमाले नेता गुरुङले स्थानीय तहमा आफ्नो पार्टीसँग अन्य पार्टीहरूले प्रतिस्पर्धा नै गर्न नसक्ने दाबी गरे । आफ्नो पार्टीसँग प्रतिस्पर्धा गर्न नसकेपछि काँग्रेस, माओवादी केन्द्रसहितका राजनीतिका दलहरूले चुनावी गठबन्धन गर्नु परेको उनले तर्क समेत गरे ।

नेता गुरुङले जनताको सेवा गरेको हिसाबले, शक्ति र संगठन सबै हिसाबले एमाले नै आगामी स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा विजयी हुने दाबी गरे । उनले पार्टीको आधिकारिक उम्मेदवार बाहेकका लागि चुनावी प्रचार अभियानमा हिँडेको पाइए उनीहरूमाथि पार्टीले कारबाही गर्ने पनि बताए ।

कार्यक्रममा कांग्रेसका पनि एक दर्जन बढी नेता, कार्यकर्ता एमाले प्रवेश गरेका थिए । उनीहरूलाई नेता गुरुङ, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत लगायतले पार्टीमा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर