‘तिलोत्तमामा एमालेले नजित्नुपर्ने कुनै कारण छैन’ – Nepal Press

‘तिलोत्तमामा एमालेले नजित्नुपर्ने कुनै कारण छैन’

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा नेता दीपक बोहोरालगायतका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो– रुपन्देहीको तिलोत्तमा नगरपालिका ।

२०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा वासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएपछि राम्रो काम गरेर देशभर चर्चा कमाएको तिलोत्तमामा यसपटकको स्थानीय तह निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ ।

एमालेबाट प्रदेश कमिटी सदस्य मोहन चापागाईं र रुपन्देही कांग्रेस कांग्रेस सभापति तथा गृहमन्त्री बालकृष्णका भाइ रामकृष्ण खाण उम्मेदवार छन् । रामकृष्ण गत निर्वाचनमा घिमिरेसँग पराजित भएका थिए । गत निर्वाचनमा कांग्रेसले जनमुक्तिसँग गठबन्धन गरेको थियो । अहिले माओवादीसँग गठबन्धन छ ।

तिलोत्तमामा एमाले संगठन बलियो छ । तिलोत्तमा रुपन्देही क्षेत्र नम्बर ३ मा पर्छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेका सादगी नेता घनश्याम भुसाल निर्वाचित भएका थिए भने गृहमन्त्री खाण प्रत्यक्ष निर्वाचन नलडेर राप्रपाका दीपक बोहोरालाई दिएर आफू समानुपातिकमा बसेका थिए ।

यसअघिको निर्वाचनमा एमालेले मेयर–उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा जितेको थियो । २०७४ सालको निर्वाचनमा तिलोत्तमामा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाँणले १६ हजार २६४ मत प्राप्त गरेका थिए । उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २२४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।

एमाले विगतको विरासतलाई जोगाउँदै यसपटक पनि नगरको नेतृत्व गर्ने गरी चुनावमा होमिएको छ भने गृहमन्त्री खाण आफ्नो प्रतिष्ठाका लागि भए पनि भाइलाई जिताउनुपर्ने गरी लागेका छन् । त्यसैले तिलोत्तमाको निर्वाचन पेचिलो छ ।

प्रस्तुत छ, यसै परिवेशबीच एमालेबाट मेयरमा उठेका मोहन चापागाईंसँग गरिएको कुराकानी-

तपाईँले चुनाव जित्ने आधार के हो ?

अहिले तिलोत्तमामा एमालेले गरेको राम्रो काम, संगठनको मजबुती, विकासप्रति हाम्रो पार्टीको स्पष्ट अडान, आर्थिक पारदर्शीता नै हाम्रो जितको मुख्य आधार हो । ।

तपाईँलाई नै किन तिलोत्तमावासीले भोट दिने ?

म पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, सामुदायिक रेडियो प्रसारक संघ अकोराब), पत्रकार महासंघ, प्रेस चौतारीलगायतका संगठनमा गरेर राजनीतिमा आएको हुँ । आन्दोलनको अग्रमोर्चामा खटिएको लामो अनुभव छ, सबैलाई मिलाएर लैजानसक्ने क्षमता छ । यसैले पनि एमालेले मात्र धेरै तिलोत्तमावासीले मत दिनुहुन्छ । म निर्वाचित भएपछि तिलोत्तमाको पहिचानलाई जोगाउँदै समृद्ध तिलोत्तमालाई साकार बनाउँछु ।

मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

आमरुपमा हेर्दा तिलोत्तमा नगरपालिकाको जुन निर्वाचन छ, यो निर्वाचन अरु परिस्थिति भन्दा अलि भिन्न खालको छ । तिलोत्तमा नयाँ नगरपालिका भएको र गत निर्वाचनपछि बनेको कार्यकारी बोर्डले जनतासँग मिलेर जुन ऐतिहासिक कामहरु ग¥यो, त्यो एमालेले चुनाव जितेका कारण संभव भएको हो । त्यसले गर्दा यहाँका मतदाता एकदम उत्साहित, आत्मविश्वासी, हामीले पनि केही गर्न सक्छौं भन्ने नगरबासीको उत्साहपूर्ण अभिलाषा देखिएको छ ।

विगतमा तिलोत्तमावासीले के पाए र अब निर्वाचनमा जिते पाँच वर्षमा पाउँछन् ?

राष्ट्रिय हिसाबले एमाले नेतृत्वको संघीय सरकार, प्रदेश सरकारमा नेतृत्व गर्दा गरेका कामहरु र हामीले निर्वाचन जितेपछि गएको पाँच वर्षमा यो नगरपालिकालाई जस्तो बनाएका छौं, यो यहाँका नागरिकहरुको सामूहिक मेहनत, श्रम, लगानीमा संभव भएको हो ।

निर्वाचन जितेपछि गरेका जुन सकारात्मक कामहरु छन्, हामीले हरियालीयुक्त नगर बनाएका छौं, सफा सुन्दर नगर बनाएका छौं, खुल्ला प्लाष्टिकमुक्त बनाएका छौं । बालमैत्री नगरपालिकाका रुपमा घोषणा गरेका छौं । नेपालका अरु नगरपालिकाहरुमध्ये सबैभन्दा धेरै कानुनहरु बनाएका छौं ।

हामीले गुणस्तरयुक्त र सुशासनयुक्त नगरपालिकाका रुपमा विकसित गरेका छौं । यो हिसावले हेर्दा बिगत पाँच वर्षमा हामीले गरेका काम नै चुनाव जित्ने एउटा महत्वपूर्ण आधार हो । दोस्रो, हामीले प्रतिवद्धतामार्फत अव नगरमा हामीले के गर्ने हो भन्ने योजताहरु, नीतिहरु, कार्यक्रमहरु पनि हामीले सार्वजनिक गरेका छौं । त्यसमा हामीले यो नगरलाई एउटा शैक्षिक हवको रुपमा विकास गर्ने, सामुदायिक विद्यालयहरुबाटै गुणस्तरीय शिक्षा पाउने ग्यारेन्टी गर्ने, स्वास्थ्य बीमाका माध्यमबाट नागरिकहरुलाई निःशुलक स्वास्थ्य सेवा प्रवाह गर्ने, गएको पाँचवर्षमा जुन पूर्वाधारमा ठूलो लगानी गरेका छौं ।

आगामी दिनमा ती पूर्वाधारमार्फत सहज सेवा प्रदान गर्नका लागि पनि यहाँका नागरिकहरले हामीले मतदान गर्नुहुन्छ । त्यसले गर्दा हामी फराकिलो मतान्तरसहित चुनाव जित्छौं ।

कांग्रेस र माओवादीको गठबन्धन छ, एमाले एक्लै प्रतिस्पर्धामा कसरी चुनाव जित्छु भन्नुहुन्छ ?

तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ भने कांग्रेस र माओवादीबीच मात्रै तालमेल छ । यो गठबन्धन केवल पद प्राप्तिको लागि मात्रै हो भन्ने कुरा जनताले बुझेका छन् ।

राजनीतिमा आफ्नो नीति, विचार कार्यक्रमको कुरा लागू गरेर जाने कुरा हो । त्यो कुरामा उहाँहरुको ध्यान छैन । सम्पूर्ण ध्यान उहाँहरुले कसरी पद प्राप्त गर्ने भन्नेमा मात्रै देखिन्छ । त्यसले गर्दा तिलोत्तमा नगरपालिकाको सन्दर्भमा गठबन्धन केवल व्यक्तिको हितका लागि गरिएको जस्तो लाग्छ ।

त्यसले गर्दा यहाँ गठबन्धनको यहाँ त्यति धेरै सार्थकता छैन । एमालेभित्र हामी सबै एकतावद्ध रुपमा अगाडि बढेका छौं भने नेपाली काँग्रेसभित्र असन्तुष्टी व्याप्त छ । गृहमन्त्रीका भाइ भएको कारणले आफ्नै परिवारभित्रकालाई टिकट दिएको भनेर सो पार्टीका कतिपय कार्यकर्ता असन्तुष्ट छन् । यसले गर्दा चुनाव एमालेले जित्ने कुरामा दुईमत छैन ।

तिलोत्तमाको विकासको चर्चा कायम राख्न तपाईँका योजना र प्राथमिकता के छन् ?

शिक्षा, स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाह नागरिकहरुको चाहना हो । सुशासनयुक्त नगरपालिका निर्माणदेखि विकास निर्माणमा तदारुकताका साथ नगरबासीलाई साथमा लिएर अगाडि बढ्ने योजना छ ।

सानासाना कामहरु गरेर पनि नागरिकहरुलाई उत्साहित बनाएर जसरी हिंजो लिएर हिंडेका छन्, त्यसलाई अझ नयाँ उचाइका साथ नयाँ तहबाट हामीले काम गर्छौं । प्रतिवद्धतापत्रमार्फत हामीले आफ्ना योजनाहरु सार्वजनिक गरेका छौं ।

खास गरेर शिक्षा, स्वास्थ्य, हरेक ठाउँमा स्वस्थ नागरिक निर्माण गर्ने, खेल मैदानहरु निर्माण गर्ने, सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने जस्ता हाम्रा धेरै योजना र कार्यक्रमहरु छन् । जातजाती, भाषाभाषी, धर्मप्रति हामी असाध्यै सहिष्णु भएर सांस्कृतिक धरोहरहरुलाई हामीले संरक्षण गरेर अगाडि बढाउँछौं । सिंचाई प्रणालीदेखि लिएर अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने कुरा मेरो प्रमुख प्राथमिकतामा रहेको छ ।

असन्तुष्ट समूहलाई कसरी मिलाउनुभएको छ ?

हाम्रो पार्टीमा असन्तुनष्ट कोही छैनन् । टिकट पाउन मसहित अन्य साथीहरुले पनि चाहना राखेर तयारी गर्नुभएको थियो, राजनीतिमा लागेपछि त्यो सबैले गर्दछ तर टिकट सबैलाई पुग्दैन । अहिले सबै साथीहरु आफ्नो जिम्मेवारीमा हुनुहुन्छ । असन्तुष्टि छ भनेर विपक्षीले फैलाएको हल्ला हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर