तिलोत्तमा मेयरका कांग्रेस उम्मेदवार भन्छन्- चुनाव जिते सरकारी सुविधा लिन्नँ, कर आधा घटाउँछु – Nepal Press

तिलोत्तमा मेयरका कांग्रेस उम्मेदवार भन्छन्- चुनाव जिते सरकारी सुविधा लिन्नँ, कर आधा घटाउँछु

रुपन्देही । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाण, एमालेका नेता घनश्याम भुसालको गृहनगर तथा एमाले उपाध्यक्ष विष्णु पौडेल, राप्रपा नेता दीपक बोहोरालगायतका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हो रुपन्देहीको तिलोत्तमा नगरपालिका ।

२०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएपछि राम्रो काम गरेर देशभर चर्चा कमाएको तिलोत्तमामा यसपटकको स्थानीय तह निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ ।

एमालेबाट प्रदेश कमिटी सदस्य मोहन चापागाईं र रुपन्देही कांग्रेस कांग्रेस सभापति तथा गृहमन्त्री बालकृष्णका भाइ रामकृष्ण खाण उम्मेदवार छन् । रामकृष्ण गत निर्वाचनमा घिमिरेसँग पराजित भएका थिए । गत निर्वाचनमा कांग्रेसले जनमुक्तिसँग गठबन्धन गरेको थियो । अहिले माओवादीसँग गठबन्धन छ ।

तिलोत्तमामा एमाले संगठन बलियो छ । तिलोत्तमा रुपन्देही क्षेत्र नम्बर ३ मा पर्छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेका सादगी नेता घनश्याम भुसाल निर्वाचित भएका थिए भने गृहमन्त्री खाण प्रत्यक्ष निर्वाचन नलडेर राप्रपाका दीपक बोहोरालाई दिएर आफू समानुपातिकमा बसेका थिए ।

यसअघिको निर्वाचनमा एमालेले मेयर–उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा जितेको थियो । २०७४ सालको निर्वाचनमा तिलोत्तमामा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाँणले १६ हजार २६४ मत प्राप्त गरेका थिए । उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २२४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् ।

एमाले विगतको बिरासतलाई जोगाउँदै यसपटक पनि नगरको नेतृत्व गर्ने गरी चुनावमा होमिएको छ भने गृहमन्त्री खाँण आफू प्रतिष्ठाका लागि भए पनि भाइलाई जिताउनुपर्ने गरी लागेका छन् । त्यसैले तिलोत्तमाको निर्वाचन पेचिलो छ ।

यसै परिवेशबीच नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार खाडसँग गरिएको छोटो कुराकानी–

तपाईंका चुनाव जित्ने आधार के हुन् ?

नेपाली कांग्रेसको बलियो संगठन, माओवादीसँगको गठबन्धन, अहिले तिलोत्तमा नगरपालिकामा नागरिकका अपेक्षाविपरीत भएका विषयमा निरन्तर खबरदारी र विकासका योजनामा हाम्रो प्रष्ट धारणा नै जितका मुख्य आधार हुन् ।

तिलोत्तमा के नयाँ काम गर्ने योजना बनाउनुभएको छ ?

मैले यहाँबाट तलब र भत्ता लिने छैनँ । त्यो असहायको क्षेत्रमा लगानी गर्नेछु । अहिले लगाइएको सम्पत्ति कर आधा घटाइने छ, विकासका काम सबै वडामा पुग्नेगरी बनाउने छु, जनप्रतिनिधि सेवक हुन्, मालिक होइनन् भन्ने भावनाको विकास गर्नेछु ।

तिलोत्तमा प्रशस्त सम्भावना बोकेको नगरपालिका भएकोले पनि शुद्ध मन र प्रष्ट विचारसहित काम गरेर नगरपालिका मात्र नभई नगरवासी पनि उत्कृष्ट हुने बनाउनेछु ।

यसअघिको स्थानीय सरकारका कामलाई कसरी हेर्नुभएको छ ?

यसअघि नगरमा एमाले नेतृत्वले नीतिगत भ्रष्टाचार गरेको छ । अब कांग्रेसले जितेपछि नगरलाई सुशासनमा नम्बर वान बनाउने र बेरुजु शून्य बनाउने छ । करको दर घटाउने छ, विकृति हटाउने छ, अहिले बनाइएको भवनलाई अस्पताल बनाइने छ । एमालेले प्रतिबद्धता गरेका अधिकांश काम पूरा भएनन् सबै हल्ला मात्र भएका छन् ।

नयाँ योजना के छन् ?

तिलोत्तमालाई आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्य र उद्देश्य छ । कृषिका लागि उर्वरभूमि, वन, वातावरण, औद्योगिक र पर्यटकीय लगानीका प्रशस्त सम्भावना बोकेको तिलोत्तमालाई नमूना नगर बनाउने योजना अगाडि सारिएको छ ।

राजनीतिमा कसरी आउनुभयो ?

२०४० सालको सुरजपुरा घटनामा स्व. गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको सुरक्षार्थ खटिएर घटनालगत्तै घाइतेको उपचार तथा उद्दारमा सक्रियतापूर्वक लागेको थिएँ । २०४२ सालको सत्याग्रहका बेला अग्रमोर्चामै खटिएर भाग्यवश जेल जानबाट जोगिए पनि जेल परेकाहरूको रिहाइ, खानपान, खबर आदानप्रदानको काममा सक्रिय भएँ । २०४६ सालको जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा थिएँ ।

गठबन्धन कसरी गर्नुभएको छ ?

माओवादी, कांग्रेसको गठबन्धन बनेको छ । दुवै पार्टीको बलियो संगठन छ, हामीले निर्वाचन जित्नका लागि कुनै समस्या छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर