स्वयम्भूमा मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा – Nepal Press

स्वयम्भूमा मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

काठमाडौं । काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा भेटिएका एक व्यक्तिको हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यही वैशाख २ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका २५ वर्षीय नरेश गौतम मृत भेटिएका थिए ।

अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका–१ घर भई काठमाडौँको वनस्थली बन्दै आएका राजेश सुनार र सिन्धुलीको दुधौली घर भई काठमाडौँको नागार्जुन बस्ने प्रकाश तिमिल्सिना रहेका छन् । तिमिल्सिनालाई गोरखा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले जानकारी दिएको छ ।

उक्त घटना शंकास्पद देखिएपछि प्रहरी वृत्त स्वयम्भूसहित, जिल्ला प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका साथै महाराजगन्जस्थित शिक्षण अस्पतालको फरेन्सिक विभागका चिकित्सकको टोलीले घटनाको अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा तालिमप्राप्त कुकुरसमेतको परिचालन गरिएको परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर