कारागारबाट भागेर पक्राउ परेका यमराजलाई १८ वर्ष र प्रहरी जवानलाई १० वर्ष कैद फैसला – Nepal Press

कारागारबाट भागेर पक्राउ परेका यमराजलाई १८ वर्ष र प्रहरी जवानलाई १० वर्ष कैद फैसला

घोराही । घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई अदालतले थप ६ वर्ष ३ महिना जेल सजायको फैसला सुनाएको छ । दाङ जिल्ला अदालतले परियारलाई कैद सजायको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

२०७८ साल पुस ८ गते अस्पताल जाने भनी प्रहरी जवानसँग गएका यमराज भागेर भारत पुगेका थिए । अदालतका न्यायाधीश डिल्लीराज शर्मा अर्यालको इजलासले कैदी यमराजलाई बाँकी कैद साढे १२ वर्ष ६ महिना र थप ६ वर्ष ३ महिना साढे १४ दिन गरी १८ वर्ष १० महिना साढे १३ दिन कैद सजाय सुनाएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका यमराजले कारागारबाट भाग्ने बेलासम्म ७ वर्ष ५ महिना १ दिन कैद सजाय भुक्तान गरिसकेका थिए । कैदी कारागारबाट भागेको खण्डमा कारागार ऐन २०१९ को दफा २४ को ३ मा पक्राउपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्थाअनुसार यमराजलाई थप ६ वर्ष ३ महिना साढे १४ दिन कैद सजाय तोकिएको प्रहरी प्रमुख काफ्लेले बताए ।

अदालतका तहसिलदार प्रेमनारायण पराजुलीले यस प्रकारको मुद्दामा बाँकी कैदको आधा डेढी अर्थात आधा कैदको व्यवस्था कानुनमा रहेको छ । काफ्लेले दिएको जानकारीअनुसार यमराजलाई अस्पताल लगेर गएका प्रहरी जवान धनबहादुर चौधरीलाई १० वर्ष कैद सजाय फैसला भएको छ ।

छाला जँचाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाने भनी प्रहरी जवान चौधरीको लु ३१ प ४१० नम्बरको मोटरसाइकलमा गएका उनीहरु अस्पताल नगई दुई युवतीलाई लिएर होटेलमा गएका थिए । त्यही होटेलबाट कैदी यमराज अस्पताल लगेर गएका प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय दाङको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नियन्त्रणमा लिएको थियो ।

याङकी अप्रेशन चलाएर प्रहरीले यमराजलाई पक्राउ गरेकाे थियो । कैदी फरार प्रकरणमा निलम्बनमा परी मुद्दा खेपेका तत्कालीन कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी र प्रहरी हबल्दार गणेशकुमार थारुले सफाइ पाएका छन् । अदालतले ठकुरीलाई १० हजार र थारुलाई ५ हजार धरौतीमा छोडेको थियो ।

सफाइपछि प्रहरी सहायक निरीक्षक ठकुरी जिल्ला प्रहरी कार्यालय दाङमा हाजिर भइसकेका छन् । त्यस्तै पुर्पक्षका लागि कारागार चलान भएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पनि अदालतले सफाइ दिएको छ ।

त्यसैगरी कैदी र प्रहरी जवानसँग होटेलमा गएकी घोराही १६ की विपशा चौधरी र होटेल सञ्चालक सौजन्य खनाललाई पनि अदालतले सफाइ दिएको छ । तत्कालीन कारागारका जेलर युवराज परियारमाथि भने विभागले मुद्दा चलाउन दिएन । अहिले उनी जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर