सुर्खेत गठबन्धनमा तनाव: ‘नो भोट’को मुडमा माओवादी, फकाउँदै कांग्रेस – Nepal Press

सुर्खेत गठबन्धनमा तनाव: ‘नो भोट’को मुडमा माओवादी, फकाउँदै कांग्रेस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गठबन्धन गरेका कांग्रेस र माओवादीबीच अन्तरकलह बढ्दै गएको छ । नेकपा एकीकृत समाजवादीलाई गठबन्धनबाट आउट गरेका माओवादी र कांग्रेसबीच नै मनमुटाव बढिरहेको छ । लेकबेशी नगरपालिकामा उपमेयर नेकपा एसलाई दिएपछि त्यहाँ मनमुटाव बढेको हो ।

त्यस्तै चिङ्गाडमा माओवादीले कांग्रेससँगको गठबनधन औपचारिक रुपमा सकिएको घोषणा गरेको छ । यसअघि कांग्रेसको भागमा परेको यो पालिकामा नेकपा माओवादीले वडा नम्बर ३, ५, ६ मा वडाध्यक्ष पाउने सहमति भएको थियो ।

तर यहाँ कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवारी दिएकाको उम्मेदवारी फिर्ता गराउन सकेन । उपाध्यक्षमा मात्रै उम्मेदवारी दिएको माओवादीले उपाध्यक्षको मनोनयन फिर्ता लियो । त्यसपछि यो पालिका प्रमुख र उपप्रमुखमा माओवादीको उम्मेदवारविहीन हुनपुग्यो ।

‘हामीले कांग्रेससँगको सहमति कार्यान्वयन हुने अपेक्षासहित उपाध्यक्षमा जीतबहादुर रानाको उम्मेदवारी फिर्ता लिएका थियौं’, माओवादी पालिका सचिव महेश जिसी भन्छन्, ‘तर हामीसँग भएको सहमति कांग्रेसले उल्ट्याएको छ । त्यसैले कांग्रेसलाई आगामी चुनावमा भोट दिने सम्भावना छैन ।’ उनीहरुले यहाँ ‘नो भोट’ अभियान सुरु गर्ने बताए ।

बराहताल गाउँपालिकामा पनि अध्यक्षमा माओवादीलाई र उपाध्यक्षमा कांग्रेसलाई सहयोग गर्ने सहमति भएको थियो । तर यहाँ पनि गठबन्धनको आधिकारिक उम्मेदवारबाहेक माओवादीबाट ईश्वरभक्त सुनारले उम्मेदवारी दिएका छन् । उनी पनि चुनावी प्रचारमा व्यस्त छन् । यसले यहाँ पनि गठबन्धनमा तनाव भएको छ ।

कांग्रेसको भागमा परेको पञ्चपुरी नगरपालिकामा समाजवादी र माओवादीले गठबन्धन कायमै राखेका छन् । यहाँ माओवादीको तर्फबाट मेयरमा केशव शाही उम्मेदवार छ । प्रदेश स्तरीय सहमतिअनुसार उने मनोनयनपत्र फिर्ता लिनुपर्ने थियो तर उनले लिएनन् ।

यस्तो थियो भागबण्डा

गत शुक्रबार केन्द्रीय गठबन्धनको निर्देशनपछि दुई दलको बैठक बसेको थियो । बैठकमा माओवादीले एक पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाउने गरी सहमति भएको थियो ।

माओवादीले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको उपमेयर, बराहताल र सिम्ताको उपाध्यक्ष पाउने सहमति भएको थियो भने चौकुने गाउँपालिकाको अध्यक्ष पाउने उल्लेख छ ।

नेपाली कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, बराहताल, सिम्तामा प्रमुख र चौकुने गाउँपालिकामा उपाध्यक्ष पाउने सहमति भएको थियो ।

नेपाली कांग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले कांग्रेस माओवादीलाई सँगै लैजान खोजिरहेको बताउँदै सोहीअनुसार गठबन्धन निर्माण गरिएको बताए । ‘हामी इमान्दारीपूर्वक केन्द्र र प्रदेश संयन्त्रले गरेको निर्देशनलाई पालना गर्छौं । उहाँहरुले पनि सोहीअनुसार पालना गर्नुहुनेमा हामी आशावादी छौं’, सचिव सुवेदीले भने, ‘चिङ्गाडमा हामीले दुई वडा दिने भनेका थियौं, उहाँहरुले तीन वडा माग्नु भएको हो । उहाँहरुले मतदान हुने दिनसम्म सहमति गर्नुहुनेमा हामी विश्वस्त छौं ।’

सुरुमा गठबन्धन नगर्ने अडानमा रहेको कांग्रेसले धेरै पालिकामा हार व्यहोर्नुपर्ने देखेपछि माओवादीसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर