नवलपरासी पूर्वकाे हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ६ जना घाइते – Nepal Press

नवलपरासी पूर्वकाे हुप्सेकोटमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, ६ जना घाइते

रुपन्देही । नेकपा एमालेले नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका उम्मेदवारसहित कार्यकर्तामाथि नेपाली कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको घटनाप्रति विरोध जनाएको छ ।

हुप्सेकोट २ गुहेरीमा अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहितका उम्मेदवार घरदैलो गरेर फर्कने क्रममा भएको आक्रमणबाट आफ्ना नेता कार्यकर्ता घाइते भई अस्पतालमा रहेको समयमा उल्टो एमालेले आक्रमण गरेको भनेर गतल प्रचार गरिएको एमाले हुप्सेकोटका सचिव मदन थापाले जनाएका छन् ।

हुप्सेकोटमा भएको सो घटनामा एमालेका ३ जना र कांग्रेसका ३ जना गम्भीर घाइते भएर अस्पतालमा उपचाररत छन् । एमालेले आफ्ना कार्यकर्ता हुप्सेकोट ३ का हरि केसी, होमबहादुर सारु, हुप्सेकोट १ का चुडाबहादुर सेरपुजा, मनोज गुरुङ मध्यविन्दु अस्पतालबाट रिफर भएर चितवनको सीएसी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

सो झडपमा कांग्रेसका पनि ३ जना घाइते भएका छन् । तर, कांग्रेसले भने आफ्ना गाउँपालिका अध्यक्ष उमेदवार लक्ष्मी पाण्डे र उनी चढेको भाडाको गाडी ग ३ च १६०६ नम्बरको स्कार्पियोमा एमालेका कार्यकर्ताले आक्रमण गरेको जनाएको छ ।

कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेले पहिले एमालेका कार्यकर्ताले आक्रमण गरेपछि यस्तो अवस्था आएको बताए ।

एमाले हुप्सेकोट गाउँपालिका उम्मेदवार चेतन रानाले निर्वाचन बिथोल्न कांग्रेसले झूटो प्रचार गरेको भन्दै चुनावी प्रचारबाट एक्लै घर फर्कंदै गरेका मनोज गुरुङलाई लक्ष्मी पाण्डेसहितको टोलीले आक्रमण गरेर घाइते बनाएपछि झडप भएको बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको र प्रहरीले तितरबितर पारेर घटना साम्य पारेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर