हत्यामा संलग्न ३ जना पक्राउ – Nepal Press

हत्यामा संलग्न ३ जना पक्राउ

इलाम । इलाममा दुई जनाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिका–८ का ४२ वर्षीय देवेन्द्र रिमाल, देउमाई नगरपालिका–७ चुलिगाउँका २३ वर्षीय भुपेन राई र निजकै भाइ २० वर्षीय श्रीचन्द्र राई रहेका छन् ।

इलाम नगरपालिका–८ कि ३१ वर्षीया विनीता काफ्लेको वैशाख १७ गते इलाम नगरपालिका–८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका विभिन्न भाग छुट्टाछुट्टै भई खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको थियो ।

शव फेला परेसँगै अनुसन्धानको क्रममा रिमालसँग काफ्लेको घनिष्ठ सम्बन्ध रहेको खुलेकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोधपुछको क्रममा रिमालले उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी देउमाई नगरपालिका–७ का ४५ वर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कँदै गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा देउमाई नगरपालिका–७ चुलिगाउँका २३ वर्षीय भुपेन राई र निजकै भाइ २० वर्षीय श्रीचन्द्र राईलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो ।

उनीहरूले कोरोनाको खोप लगाई घर फर्कँदै गरेका राईलाई बाटोमा सामान्य वादविवादकै क्रममा अन्धाधुन्ध कुटपिट गरी हत्या गरेको खुलेसँगै दुवै जनालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर