काठमाडौंमा भद्रगोल सत्ता गठबन्धन- कतै महागठबन्धन, कतै विलखबन्द (सूचीसहित) – Nepal Press

काठमाडौंमा भद्रगोल सत्ता गठबन्धन- कतै महागठबन्धन, कतै विलखबन्द (सूचीसहित)

काठमाडौं । काठमाडौं जिल्लामा महानगरबाहेकका अन्य १० नगरपालिकामा सत्तारूढ दलहरूबिचको चुनावी तालमेल रंगबिरंगी देखिएको छ । महानगरपालिकामा केन्द्रबाटै भागबण्डा भए पनि अरू नगरपालिकामा भद्रगोल भएको हो ।

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच नगरपिच्छे फरक फरक तालमेल देखिएको हो । विशेष गर नेपाली कांग्रेसले साना दलप्रति उदार हुन नसकेपछि आ आफ्नै स्वार्थ अनुसार खुद्रे तालमेल गरेर गठबन्धन अघि बढेका छन् ।

यहाँ बढी जसो कांग्रेस र नेकपा एसबीच नै मेयर पद लिन घम्साघम्सी भएको देखिन्छ भने माओवादी केन्द्र सहयोगी दलको रूपमा देखिएको छ । कांग्रेसले एउटा नगरपालिकामा नेकपा एसलाई मेयर छाडेर उपमेयर लिएको छ ।

काठमाडौं जिल्लाका १० नगरपालिकामध्ये ४ वटामा सत्ता गठबन्धन एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् । बाँकी ६ नपामध्ये कांग्रेस र माओवादी केन्द्रले ३ वटामा तालमेल गरेका छन् । जसमध्ये एउटामा जनमोर्चा पनि सहभागी भएको छ भने एउटामा कांग्रेसले जसपासँग गरेको छ ।

माओवादी केन्द्र र नेकपा एसबीच दुइटा नपामा चुनावी तालमेल हुँदा कांग्रेस र नेकपा एसबीच एउटा मात्र नगरपालिकामा तालमेल भएको छ ।

शंखरापुरमा कांग्रेसले एसलाई छोड्यो मेयर

यहाँ कांग्रेसले नेकपा एसलाई मेयर पद छाडेको छ । कांग्रेससँगको तालमेलअनुसार नेकपा एसबाट लक्ष्मीप्रसाद श्रेष्ठ मेयर उम्मेदवार छन् । कांग्रेसका समिता श्रेष्ठ उपमेयर उम्मेदवार छिन् ।

यहाँ माओवादी केन्द्र एक्लै चुनाव लड्दै छ । उसले मेयरमा मधु केसी र उपमेयरमा चण्डिका चौलागाईं उठाएको छ ।

एमालेबाट मेयरमा कृष्णलाल बजगाईँ र उपमेयरमा लक्ष्मी केसी उम्मेदवार छन् ।

अघिल्लो निर्वाचनमा यहाँ एमालेका सुवर्ण श्रेष्ठ ४ हजार ८६९ मत ल्याएर मेयर विजयी भएका थिए । कांग्रेसका शंकर तिवारी २ हजार ९४७ मतसहित दोस्रो भएका थिए ।

माओवादी केन्द्रका कृष्णराज सुवेदीले २ हजार ४३६ मत पाएका थिए ।

कागेश्वरी मनहरमा नेकपा एस एक्लै

यहाँ कांग्रेस र माओवादी केन्द्रबीचमात्रै तालमेल भएको छ । नेकपा एस एक्लै चुनावी प्रतिस्पर्धामा छ । बहालवाला मेयर कृष्णहरी थापाले केन्द्रको मापदण्ड अनुसार मेयर पाउनुपर्ने हो । तर उनीबाहेक कांग्रेस माओवादी तालमेल भयो । उनी आफ्नै अध्यक्ष माधवकुमार नेपालप्रति असन्तुष्ट बनेका छन् ।

कांग्रेस-माओवादी केन्द्रको सहमतिअनुसार मेयरमा कांग्रेसका उपेन्द्र कार्की र उपमेयरमा माओवादी केन्द्रका भोला चापागाईँ निर्वाचनमा होमिएका छन् ।

नेकपा एसबाट मेयरमा कृष्णहरि थापा र उपमेयरमा सरस्वती नेपाल प्रतिस्पर्धामा छन् । एमालेले यहाँ मेयरमा रामशरण ढुंगानालाई उठाउँदा उपमेयरमा शान्ता थापा उम्मेदवार छिन् ।

२०७४ को निर्वाचनमा यहाँ एमालेका वर्तमान उम्मेदवार थापा ८ हजार ९६९ मतसहित विजयी भएका थिए । उनलाई कांग्रेसका अहिलेकै उम्मेदवार कार्कीले ८ हजार ४८७ मतसहित टक्कर दिँदा माओवादी केन्द्रका उम्मेदवार महेश्वर फुयाँलले २ हजार ५६७ मत पाएका थिए ।

गोकर्णेश्वरमा नेकपा एस-माओवादी केन्द्रको तालमेल

कांग्रेसले मेयर छाड्न नमानेपछि यहाँ माओवादी केन्द्र र नेकपा एसले तालमेल गरेका छन् । तालमेलअनुसार मेयरमा नेकपा एसका गोपालप्रसाद बराल र उपमेयरमा माओवादी केन्द्रका पेमाछिरि शेर्पा उम्मेदवार छन् ।

कांग्रेसले मेयरमा दीपककुमार रिसाल र उपमेयरमा शान्ति नेपाललाई उठाएको छ ।

एमालेबाट मेयरमा उद्धव विष्ट र उपमेयरमा सान्नानी लामा उम्मेदवार छन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका सन्तोष चालिसे ९ हजार ९ मतसहित विजयी हुँदा एमालेका पुण्यप्रसाद चौलागाईं ७ हजार ५९५ मतसहित दोस्रो भएका थिए । माओवादी केन्द्रका तेजराज नेपालले २ हजार २६ मत पाएका थिए ।

बुढानिकण्ठमा एक्ला एक्लै

बुढानिलकण्ठ नगरपालिकामा पनि सत्तारूढ दलहरूबिच सहमति जुटेन । फलस्वरूप एक्ला एक्लै चुनावमा गएका छन् । यहाँ कांग्रेसबाट मेयरमा विनोद चालिसे र उपमेयरमा रमिला वाग्ले उम्मेदवार छन् ।

नेकपा एसले मेयरमा बालकृष्ण श्रेष्ठ र उपमेयरमा प्रमीला सापकोटालाई खडा गरेको छ । माओवादी केन्द्रबाट डम्बरप्रसाद अधिकारी मेयर र कमला गौतम उपमेयर उम्मेदवार छन् ।

एमालेबाट मिठाराम अधिकारी मेयर र अनिता लामा उपमेयर उम्मेदवार छन् ।

अघिल्लो पटक यहाँ एमालेका उद्धवप्रसाद खरेल १३ हजार २४६ मतसहित विजयी भएका थिए । कांग्रेसका राजु श्रेष्ठ ८ हजार ९२७ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रका रविन अधिकारीले ३ हजार ७९० मत पाएका थिए ।

टोखामा एक्ला एक्लै

काठमाडौंको अर्को नगरपालिका टोखामा सत्तारूढ दलहरूबीचमा तालमेल हुन नसकेपछि एक्ला एक्लै चुनावमा गएका छन् ।

जसमा कांग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङ उम्मेदवार छन् । नेकपा एसले कविताकुमार गौतमलाई मेयर र उपमेयरमा जोगप्रसाद नेपाललाई खडा गरेको छ ।

माओवादी केन्द्रले मेयरमा शेखर श्रेष्ठलाई र उपमेयरमा यमुना पुडासैनी अधिकारीलाई उम्मेदवार बनाएको छ ।

एमालेबाट यसअघिकै प्रकाश अधिकारी मेयरमा र ज्ञानमाया डंगोल उपमेयरका उम्मेदवार छन् ।

यहाँ अघिल्लो निर्वाचनमा एमालेका अहिलेका उम्मेदवार अधिकारी ८ हजार ८९५ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका हरिहर अधिकारीले ७ हजार ५१४ मतसहित दोस्रो हुँदा माओवादी केन्द्रकी कल्पना शर्माले २ हजार ३९२ मत ल्याएर तेस्रो भएकी थिइन् ।

तारकेश्वरमा नेकपा एस र माओवादी केन्द्रको तालमेल

यहाँ नेकपा एस र माओवादी केन्द्रबीच तालमेल हुँदा कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । गठबन्धनका तर्फबाट मेयरमा नेकपा एसका लवकुमार बस्नेत र उपमेयरमा माओवादी केन्द्रका धनलाल महर्जन उम्मेदवार छन् ।

कांग्रेसबाट मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा सृजना बुर्लाकोटी उम्मेदवार छन् । एमालेले रामेश्वर बोहरालाई मेयर र भवानी डोटेल धिताललाई उपमेयरको उम्मेदवार बनाएर दोहोर्‍याएको छ ।

अघिल्लो निर्वाचनमा यहाँ एमालेका अहिलेकै उम्मेदवार बोहरा ९ हजार ३२६ मतसहित विजयी भएका थिए । कांग्रेसका श्रीराम थापा ७ हजार ७५७ मत ल्याएर दोस्रो भएका थिए ।

त्यस्तै माओवादी केन्द्रका अहिले उपमेयर उम्मेदवार महर्जनले ३ हजार २२१ मत पाएका थिए ।

नागार्जुनमा कांग्रेस र जसपा तालमेल

सत्ता गठबन्धनका प्रमुख दलहरूबीचमा यहाँ पनि पूर्ण तालमेल हुन सकेन । यहाँ कांग्रेसबाट मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का उम्मेदवार छन् । तर कांग्रेसले जसपालाई उपमेयरमा समर्थन जनाएर कल्याणीको उम्मेदवारी प्याक गरेको नेता किरण गिरीले बताए ।

यस्तै नेकपा एसले देवकी भट्टराईलाई मेयर र कृष्णहरि खत्रीलाई उपमेयर उठाएको छ । माओवादी केन्द्रबाट मेयरमा सरस्वती सुनार र उपमेयरमा प्रताप दानी उम्मेदवार छन् ।

एमालेले नन्दनहरि गौतमलाई मेयर र सुशीला अधिकारीलाई उपमेयरको उम्मेदवार बनाएको छ । सुशीला अहिलेकै उपमेयर हुन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसबाट अहिलेकै उम्मेदवार बस्नेत ६ हजार ९६१ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णहरि खत्रीले ६ हजार ७२६ मत ल्याएका थिए ।

राप्रपाका उद्धव थापा २ हजार ४९४ मतसहित तेस्रो भएका थिए । माओवादी केन्द्रका कुमार तामाङ एक हजार ६१९ मतसहित चौथो स्थानमा रहेका थिए ।

चन्द्रागिरिमा कांग्रेस-जनमोर्चाको तालमेलमा माओवादीको समर्थन

यहाँ कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको छ । जसमा कांग्रेसबाट मेयरमा घनश्याम गिरि र जनमोर्चाका तर्फबाट रोशन दानी उपमेयरमा उम्मेदवार छन् । माओवादी केन्द्रले मेयर–उपमेयरमा यही गठबन्धनलाई सघाउने भएको छ ।

नेकपा एसले मेयरमा सुशीला न्यौपाने र उपमेयरमा भाइकृष्ण बलामीलाई उम्मेदवार बनाउँदा एमालेबाट मेयरमा हाल १५ नम्बर वडाका वडाध्यक्ष उत्तम राउत र उपमेयरमा बसन्ती श्रेष्ठ उम्मेदवार छन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका अहिलेका उम्मेदवार गिरि १३ हजार ३०९ मत ल्याएर विजयी हुँदा एमालेका प्रह्लादबहादुर कार्की १० हजार ४२१ मत ल्याएर दोस्रो भएका थिए । माओवादी केन्द्रका श्रीकृष्ण श्रेष्ठले ३ हजार ६८७ मत प्राप्त गरेका थिए ।

कीर्तिपुरमा एक्ला एक्लै

कीर्तिपुर नगरपालिकामा सत्तारूढ तीन दल एक्ला एक्लै प्रतिस्पर्धामा छन् । यहाँ कांग्रेसबाट मेयरमा राजकुमार नकर्मी र उपमेयरमा शुभ लक्ष्मी शाक्य उम्मेदवार रहँदा नेकपा एसबाट मेयरमा बटुकृष्ण थापा र उपमेयरमा कमला महर्जन उम्मेदवार छन् ।

यस्तै माओवादी केन्द्रबाट मेयरमा शिव शरण महर्जन र उपमेयरमा सुशीला बस्नेत उम्मेदवार रहेका छन् । प्रतिपक्षी दल एमालेले मेयरमा केशराज बज्राचार्य र उपमेयरमा बिन्दु महर्जनलाई उठाएको छ ।

अघिल्लो निर्वाचनमा यहाँ एमालेका रमेश महर्जनले ७ हजार ३६० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अहिलेकै उम्मेदवार नकर्मी ६ हजार ६१६ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए । माओवादी केन्द्रका हीराबहादुर महर्जनले ४ हजार ९ मत ल्याएका थिए ।

दक्षिणकालीमा माओवादी केन्द्र रुखबाट चुनाव लड्दै

दक्षिणकालीमा मेयर र उपमेयरमा कांग्रेसलाई समर्थन गरेको माओवादी केन्द्रले ३ जना वडाध्यक्ष रुख चिन्हबाटै लडाएको छ । दुई पार्टीबीचको सहमतिअनुसार कांग्रेसका मोहन बस्नेत र बसन्ती तामाङ क्रमशः मेयर र उपमेयर उम्मेदवार छन् ।

यहाँ नेकपा एसले रामप्रसाद तिमिल्सिना जैसीलाई मेयर उम्मेदवार बनाएको छ । उसले उपमेयरमा उम्मेदवारी दिएको छैन ।

एमालेले मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका अहिलेकै उम्मेदवार बस्नेत ४ हजार ६९८ मतसहित विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका शशि शर्मा अर्यालले ४ हजार २६८ मत ल्याएकी थिइन् ।

यस्तै माओवादी केन्द्रका सञ्जीव लामाले २ हजार ४८१ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर