दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडा बाख्रा मरे – Nepal Press

दार्चुलामा चट्याङ लागेर २ सय ५० भेडा बाख्रा मरे

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा चट्याङले बाख्रा पालक कृषकहरूको ठूलो क्षति भएको छ ।

मङ्गलवार बेलुकी परेको चट्याङले दुहुँ गाउँपालिका वडा नम्बर ५ को काङर वन क्षेत्रमा चरी चरनका लागि लगिएका भेडा बाख्रा सोतर भएका हुन् ।

दुहुँ गाउँपालिकाका स्थानीय जमन सिंह कार्की, जमन सिंह बडाल, दीपक सिंह बडाल र जयलाल बडाल गरी चार जना स्थानीयका २ सय ५० जति भेडा बाख्रा मरेको भेडा पालक किसान कार्कीले बताए ।

भेडा बाख्रा मरेको खबर प्रहरी चौकी ब्रह्मदेवमा गरेपछि घटनामा भएको क्षति जाँचबुझ गर्न प्रहरीको टोली आज बिहान १० बजेतिर घटनास्थल तिर गएको छ ।

चट्याङ परेको वन क्षेत्र दुहुँ पालिकाको केन्द्र हिकिलाबाट झण्डै ८ किलोमिटरको दूरीमा पर्छ । चट्याङले एकै पटक यति ठूलो क्षति भएपछि बाख्रा पालक किसान चिन्तित बनेका छन् ।

सबै काम थाती राखेर बाख्रामा लगानी गरियो । तर, आज यति ठूलो क्षति भयो । अब के गर्ने ? कहाँ जाने ? सम्झिँदा पनि मन भक्कानिन्छ ?’ अर्का बाख्रा पालक किसान जमन बडालले भने ।

घटनाको जानकारी दुहुँ गाउँपालिका कृषि शाखा र गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीलाई गराएको र क्षतिको अध्ययन गरी बाख्रा पालन व्यवसाय सञ्चालन गर्न सो अनुसारको क्षतिपूर्ति सहयोग रकम उपलब्ध गराइदिन अनुरोध गरिएको पीडित किसान कार्कीले बताएका छन् ।

न्युज कारखाना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर