तिनाउमा यस्तो बन्दैछ सिग्नेचर पुल – Nepal Press

तिनाउमा यस्तो बन्दैछ सिग्नेचर पुल

रुपन्देही । मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्तरुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले धमाधम काम गरिरहेका छन् ।

विश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजन गरेका थिए । तर देउवा नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले ८ वटा पुलका लागि विनियोजन भएको पैसा काटेर एउटा पुलको लागि मात्र रकम विनियोजन गरेपछि यसमा समस्या आएको थियो । तर अर्थमन्त्रालयका सचिवहरुले पूर्वअर्थमन्त्री पौडेलकै परिकल्पना अनुसार सिग्नेचर ब्रिजको बजेट व्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत भएका हुन् । सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा पुल बनाउने तयारी गरेको छ ।

चिनियाँ, भारतीय, स्वीस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन करिब सम्पन्न भएको छ । पहिलो चरणमा सार्वजनिक गरिएको आर्किटेक डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरु र विश्व बैंकका प्रतिनिधिले केही महिनाअघि बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग समेत परामर्श गरेका थिए ।

नेता पौडेलले अहिलेको पुल विस्थापित गरेर तिनाउमा सिग्नेचर पुल निर्माण गर्ने, पुलको दुवै मुखबाट तिनाउ र दानव नदी करिडोर निर्माण गरेर भारतीय सिमानासम्म जोड्ने घोषणा अघिल्लो निर्वाचनमा गरेका थिए । घोषणाअनुसार तिनाउ दानव नदी करिडोर निर्माण शुरु भइसकेको छ । तिनाउको सिग्नेचर व्रिज पनि केही महिनापछि शुरु हुने अपेक्षा छ ।
अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले यो पुलको आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ ।

यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ । उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका मध्ये बुटवलबाटै पहिलो काम सुरु भएको र कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।

ओली नेतृत्वको सरकारले २०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो ।

के हो सिग्नेचर पुल ?

सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क व्रिज जस्तै देखिने भएपनि यो आर्क व्रिज भन्दा अझ आकर्षक हुन्छ । मानिसले सिग्नेचर गर्दा जसरी अक्षरहरुलाई घुमाएर बाङ्गोटिङ्गो बनाउंछन् सिग्नेचर व्रिजको डिजाइन पनि त्यही प्रकृतिले गरिन्छ ।

पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिँड्नका लागि फराकिलो फुटपाथ समेत रहने महाशाखाले जनाएको छ ।
पुलहरुमा रातको समयमा लाइट जोड्ने योजना छ । जसले शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुनेछ । महाशाखाका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ । युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *