साल्पासिलिछोमा बागी उठेका दौलथलाई यस्तो रहेछ एमालेले टिकट नदिनुको कारण – Nepal Press

साल्पासिलिछोमा बागी उठेका दौलथलाई यस्तो रहेछ एमालेले टिकट नदिनुको कारण

भोजपुर । साल्पासिलिछो गाउँपालिकामा बागी उठेका दौलथकुमार कुलुङलाई नेकपा एमालेले कारबाही गरिसकेको छ । पार्टी निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै एमाले जिल्ला कमिटीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको अध्यक्ष शरणकुमार राईले तीन दिनअघि विज्ञप्तिमार्फत सार्वजनिक गराएका छन् ।

त्यहाँ शान्तिबहादुर अधिकारीलाई एमालेले अघि सारेको छ ।

किन दिएन एमालेले दौलथलाई टिकट ?

दौलथ ७४ को निर्वाचनमा पनि अध्यक्षको आकांक्षी थिए । यसपटक टिकटका लागि पक्कापक्कीजस्तै भए पनि उनीमाथि विचाराधीन बैंकिङ कसुरको मुद्दाले जिल्लाका नेताहरू नकारात्मक देखिएको स्रोतले बताएको छ । ओखलढुंगा सुनकोशी गाउँपालिका-५ का विनोद खत्रीले हालेको बैकिङ कसुर सम्बन्धीको मुद्दामा उनलाई उच्च अदालत पाटनले ५ दिन कैदसहित १६ लाख ५२ हजार जरिबाना तोकी जाहेरवालालाई भराउन भनेको छ ।

दौलथले यो फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका छन् । बैकिङ कसुरसम्बन्धीको सरकारवादी र उनी प्रतिवादी भएको मुद्दाको फैसला भइनसकेकोले टिकट नपाएको बताइएको छ ।

मुद्दाका कारण राष्ट्र बैंकले उनको सबै व्यक्तिगत खाता र साल्पा कन्स्ट्रक्सन प्रा. लिको खाता बन्द गरेको छ । गाउँकार्यपालिकाका निवर्तमान सदस्यसमेत रहेका उनले कांग्रेस नेता तथा वडाअध्यक्ष विक्रम बन, संघीय समाजवादीका नेता बीरकुमार राईसँग मिलेर साल्पा कस्न्ट्रकसन प्रा.लि नामक निर्माण कम्पनी खेलकेा थिए ।

गाउँको सडक निर्माणसम्बन्धी कारोबारमा बैंकिङ कसुरमा उनी २४ दिन प्रहरी हिरासतमा परेका थिए । गाउँपालिकाको डोजर खरिद समितिको अध्यक्ष बनेका उनीविरुद्ध डोजर किन्दा अनियमितता गरेको आरोपमा उजुरी पनि परेको थियो ।

यसपटक टिकट नपाउँने छनक बुझेपछि चुनावलगत्तै माओवादीमा प्रवेश गर्ने सहमतिसहित उनले बागी उम्मेदवारी दिएको माओवादीका स्थानीय एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर