उम्मेदवारदेखि कूटनीतिक नियोगसम्मले के–कति सवारीसाधन प्रयोग गर्न पाउँछन् ? – Nepal Press

उम्मेदवारदेखि कूटनीतिक नियोगसम्मले के–कति सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते उम्म्मेदवारदेखि कुटनीतिक नियोगसम्मले सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ ।

सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ जारी गरेको हो ।

मापदण्ड अनुसार स्थानीय तहको निर्वाचनको उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले चार, तीन वा दुई पाङग्रेमध्ये एउटा मात्र सवारीसाधन प्रयोगका लागि अनुमति पाउनेछ ।

त्यसका लागि सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ । सुरक्षाकर्मीले भने आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सञ्चालन गर्न पाउनेछन् ।

पर्यवेक्षक संस्थाले काठमाडौं उपत्यकामा पाँच वटा, हिमाल पहाड र तराईमा फरक–फरक

काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन आयोगको सिफारिसमा प्रत्येक संस्थाका लागि बढीमा चार, तीन वा दुई पाङग्रेमध्ये पाँच वटा मात्र सवारी साधन सञ्चालन गर्न पाउने छ । जसका लागि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

उपत्यका भन्दा बाहिरको राष्ट्रिय पर्यवेक्षक संस्थाको हकमा हिमाली जिल्लामा दुई पाङग्रे एउटा र हलुवा सवारी एउटा सञ्चालन गर्न पाइने छ । पहाडी जिल्लाको हकमा दुई पाङग्रे दुई वटा र हलुका सवारी साधन दुई वटा सञ्चालन गर्नका लागि अनुमति पाउने छ ।

तर, तराईका जिल्लाको हकमा भने दुई पाङग्रे पाँच वटा र हलुका सवारीसाधन तीन वटा सञ्चालनका लागि अनुमति पाउने छ । त्यसका लागि निर्वाचन अधिकारीको सिफारिसमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिनुपर्नेछ ।

संवैधानिक आयोगले सम्वन्धित संवैधानिक आयोगकै सिफारिसमा आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर सवारी साधन सञ्चालन गर्न सक्नेछन् । संवैधानिक निकायका प्रादेशिक एवम जिल्लास्थित कार्यालयले प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीको सिफारिसमा आवश्यकता अनुसार सम्बन्धित प्रमुख जिल्ला अधिकारीबाट अनमति लिएर सवारी साधन सञ्चालन गर्नेछन् ।

कूटनीतिक नियोगका कूटनीतिक अवलोकनकर्ताले भने आवश्यकता अनुसार निर्वाचन आयोगबाट सिधै अनुमति लिएर सवारी साधन सञ्चान गर्न पाउनेछन् । आयोगबाट अमन्त्रित विशिष्ट अतिथिले आवश्यकता अनुसार निर्वाचन आयोगबाटै सवारी साधन सञ्चालनका लागि अनुमति लिनुपर्नेछ ।

कूटनैतिक निकायले नियमित कार्यालय प्रयोजनका सवारी साधनका लागि परराष्ट्र मन्त्रालयको सिफारिसमा आवश्यकता अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट अनमुति लिएर सञ्चालन गर्न पाइनेछ । संयुक्त राष्ट्र संघका नियोगले परराष्ट्र मन्त्रालयको सिफारिसमा आवश्यकता अनुसार सिधै निर्वाचन आयोगबाट अनुमति लिएर सञ्चालन गर्न पाइने छ ।

उडानसँग सम्बन्धित कार्यालय प्रयोजनका लागि नागरिक उड्डयन प्राधिकरणको सिफारिसमा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रयोजनका लागि अध्यागमन विभागको सिफारिसमा, पर्यटक (विमानस्थल–होटल–विमानस्थल)का लागि भन्सार विभागको सिफारिसमा आवश्यकता अनुसार र निर्वाचन कार्यालयको हकमा निर्वाचन अधिकारीको सिफारिसमा प्रत्येक कार्यालयलाई दुई वटा सवारी साधन प्रमुख जिल्ला अधिकारीको अनुमतिमा सञ्चालन गर्न पाइने छ ।

आयोगले खटाएका अनुगमनकर्ताले, साझेदार निकायले, अन्तराष्ट्रिय संघ संस्थाले आवश्यकता अनुसार निर्वाचन आयोगबाट अनुमति लिएर सवारी साधन सञ्चालन गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर