वाम-लोकतान्त्रिक गठबन्धन नै नेचुरल रैछ : प्रचण्ड (भिडिओ) – Nepal Press

वाम-लोकतान्त्रिक गठबन्धन नै नेचुरल रैछ : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा ‘नेचुरल’ रहेको बताएका छन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगमा वाम गठबन्धनको अभ्यास गरिएपनि अहिलेजस्तै वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त रहेको बताए ।

‘वाम-लोकतान्त्रिक गठबन्धन नै नेचुरल थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामहरुको सजिलो हो कि भनेर लाग्यो तर त्यो होइन रहेछ’, प्रचण्डले भने ।

कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था रहँदा मुलुकले कुनै उपलब्धी हासिल गरेको उनले बताए ।

‘कांग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था हुँदा मुलुकले केही पाएन तर कांग्रेस कम्युनिष्ट मिलेपछि प्रजातन्त्र पुनःस्थापना पनि भयो, शान्तिप्रक्रिया पनि भयो, संविधानसभाबाट संविधान पनि बन्यो । यो वामपन्थी र प्रजातन्त्रवादी शक्तिकै सहकार्यले सम्भव भएको हो’, प्रचण्डले भने ।

विगतमा वामगठबन्धन र कम्युनिष्ट एकतामार्फत केपी शर्मा ओलीलाई नायक बनाउन खोजेपनि ओली खलनायक बनेको बताए ।

‘वामगठबन्धन र पार्टी एकता गरेर जुन स्थायित्व र विकासको सपना देखेका थियौं त्यो सपना ३ वर्षमै चकनाचुर भयो । केपी ओलीलाई हामीले ठूलो समर्थन गरेर नायकको भूमिकामा लगेका थियौं । तर, एकताको २ हप्तादेखि नै ओलीबाट धोका पायौं । नायक भनेको खलनायकको फेला पर्‍यौं’, उनले भने ।

कांग्रेस कार्यकर्ताले रुखबाहेक हँसिया हतौडामा र माओवादी कार्यकर्ताले हँसिया हतौडाबाहेक रुखमा भोट नहाल्ने जड्ता त्याग्नुपर्ने प्रचण्डको भनाइ छ ।

‘लकीरको फकीर बनेर हुँदैन । रुखवालाले हँसिया हतौडामा भोट हाल्नुपर्छ, हँसिया हतौडावालाले रुखमा भोट हाल्नुपर्छ । यसबाट मात्रै लोकतन्त्र र विकास संस्थागत हुन्छ’, प्रचण्डले भने ।


प्रतिक्रिया

One thought on “वाम-लोकतान्त्रिक गठबन्धन नै नेचुरल रैछ : प्रचण्ड (भिडिओ)

  1. नेपालमा माओवादी कति कमजोर अनि कामचोर भईसकेछ, यीनै कुलाजस्ता कुराले छर्लङ्ग हुन्छ। लाजको पसारो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर