सिन्धुलीकाे चकमकेमा एमाले र सत्ता गठबन्धनलाई चुनावी सभा गर्न रोक – Nepal Press

सिन्धुलीकाे चकमकेमा एमाले र सत्ता गठबन्धनलाई चुनावी सभा गर्न रोक

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले सिन्धुलीको तीनपाटन गाउँपालिकास्थित चकमकेमा बैशाख २७ गते हुने नेकपा एमाले र सत्ता गठबन्धनकाे चुनावी सभालाई रोक लगाएको छ ।

एमाले र सत्ता गठबन्धनले चकमकेमा स्थानीय प्रशासनकाे स्वीकृतिविना एकैदिन एकै समयमा चुनावीसभा गर्ने भएपछि उक्त कार्यक्रममा राेक लगाइएकाे हाे । निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै सूचना जारी गरेर उक्त चुनावीसभा स्थगन गर्न आग्रह गरेको छ ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको दफा १२ ‘ख’ मा स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने व्यवस्था छ । आचारसंहिताविपरीत चुनावीसभा गर्न लागिएकाले कार्यक्रम नगर्न आग्रह गरिएको तीनपाटन गाउँपालिकाका निर्वाचन अधिकृत पुष्पराज कटवालले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘दफा १२ ‘च’ मा एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने व्यवस्था रहेको छ । तर, यहाँ एकै दिन एउटै समय र एकै स्थानमा कार्यक्रम गर्न लागेकाले झडप हुने सम्भावना भएकाले उक्त दिन गर्ने कार्यक्रममा रोक नै लगाइएको हो ।’

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन भएकाले २७ गते राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर