मत माग्न मेलापातसम्मै पुगे उम्मेदवार – Nepal Press

मत माग्न मेलापातसम्मै पुगे उम्मेदवार

कामठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनले गाउँघरमा चुनावी गतिविधि बढेको छ । राजनीतिक दलका नेता तथा उम्मेदवारहरु हरेक मतदातासम्म पुगेर मत माग्न व्यस्त छन् ।

उम्मेदवार र राजनीतिक दलका नेताहरु मत माग्न घरघरमात्र गइरहेका छैनन्, मेलापात र खेतखेतसम्म पुगिरहेका छन् । घरमा मतदाता नभेटिएपछि उम्मेदवारहरु खेतबारीसम्म धाइरहेका र मतदाताको काममा सघाएका फोटाे सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएका छन् ।

स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका उम्मेदवारहरु चुनावी अभियानमा मकै गोडिरहेका, गहुँ काटिरहेका र अन्य काममा व्यस्त मतदाताहरुलाई भेट्दै आफूलाई सहयोग गर्न आग्रह गरिरहेका दृश्य देखिएका छन् ।

अहिले खेतीको सिजनसमेत भएकाले कतिपय मतदाता बारीमा भेटिने भएकाले भाेट माग्न बारीसम्मै पुगेको ओखलढुंगाको लिखु गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवार नेत्रप्रसाद भट्टराईले बताए । उनले सम्भव भएसम्मका मतदातालाई भेटेर मत मागेको सुनाए ।

त्यस्तै घरदैलो अभियानमा आफ्नो प्रतिबद्धता मतदातासमक्ष राखेर मत मागिरहेको नेकपा एमालेबाट झापाको अर्जुनधारा नगरपालिकामा प्रमुख उम्मेदवार वलदेव गोम्देन तामाङले बताए । नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेबारेमा मतदाताको सुझावसमेत लिएको उनको भनाइ छ ।

टाढाबाट नमस्कार गरेर पनि मत माग्न सकिन्थ्यो तर मतदाताको भावनाको सम्मान गर्न बारी र मेलासम्म पुग्ने गरेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष उम्मेदवार मेजर कुमार राईले बताए । मतदातालाई बारीसम्म पुगेर आफ्ना कुराहरु राख्न पाउनु र उहाँहरुको कुरा सुन्न पाउनु पनि सकारात्मक विषय भएको राईको भनाइ छ ।

नेपाली कांग्रेसबाट वडा अध्यक्ष उम्मेदवार रहेका अर्जुनधारा ७ का नवराम ढुंगाना पनि मतदाता काम गरिरहेकै स्थानमा गएर मत माग्दा र उहाँहरुको कुरा सुन्दा मतदाताको भावनाअनुरुप काम गर्न सजिलो हुने बताउँछन् ।

मतदाताहरुले विगतमा नभएका अधुरा कामहरु गर्न, चुनाव जितेपछि जनताको घरदैलोमा आउन नबिर्सन, अर्को चुनावसम्म आफ्नो गाउँपालिकामा शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्न माग गरेको उम्मेदवारहरु बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर