आत्मसमर्पण गरेका दाइ र भतिजलाई विप्लवको ‘पुरस्कार’, अरुलाई कारबाही ! – Nepal Press

आत्मसमर्पण गरेका दाइ र भतिजलाई विप्लवको ‘पुरस्कार’, अरुलाई कारबाही !

काठमाडौं । नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ का दाइ र भतिजले नेकपामाथि प्रतिबन्ध लगाइएका बेला नै प्रहरीसँग आत्मसर्मपण गरेको पत्र सार्वजनिक भएको छ । अहिले पनि पार्टीको जिम्मेवारीमा रहेका महासचिव विप्लवका दाइ जयन्द्रबहादुर चन्द र भतिज विनोद चन्दले तत्कालीन समयमा नै महानगरीय प्रहरी परिसर ललितपुरमा आत्मसमर्पण गरेको पत्र फेला परेको हो ।

पक्राउ परेको समयमा जयन्द्रबहादुर पार्टीको भ्रातृ संगठन गणतान्त्रिक खेलकुद महासंमा अध्यक्षको जिम्मेवारीमा थिए भने विनोद महासचिवको जिम्मेवारीमा थिए । उनीहरु हिरासतबाट छुटेलगत्तै पार्टी महासचिव विप्लवले दाइ र भतिज दुवैलाई पुरानै जिम्मेवारीमा निरन्तरता दिएका हुन् ।

हिरासतबाट छुट्नेबित्तिकै पुरानै जिम्मेवारी दिएपछि नेकपाको बन्दीपुर बैठकअघि पार्टीका केन्द्रीय सदस्य माइला लामाले विप्लवका दाइ र भतिजले प्रहरी तथा गृहमन्त्रीसँग आत्मसर्मपण गरेको पत्र पार्टी महासचिव विप्लवलाइ देखाएका थिए । तर ‘यस्ता कुरा नगर्नुस्’ भनेर विप्लवले लामालाई उल्टै थर्काएर पठाएको बताइएको छ ।

आत्मसमपर्ण मात्र होइन, हिरासत तथा जेलमा बसेका नेता तथा कार्यकर्तालाई समेत उक्त पार्टीमा केही समय जिम्मेवारीसिवहीन बनाएर राख्ने नीति थियो । त्यसैअनुसार जेल परेकै कारण पार्टीको केन्द्रीय सदस्य शितल, तत्कालीन पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी विपिन, बाजुराका जिल्ला सेक्रेटरी भुपेन्द्र विकसमेतलाई केही समय पार्टीले जिम्मेवारी दिएको थिएन । उनीहरुले आत्मसमर्पण गरेका थिएनन् । त्यतिबेला केही समय जिम्मेवारी नपाएकी धिरेन्द्रा उपाध्याय अहिले कालिकोटमा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेकी बनेकी छन् ।

उक्त पार्टीका अरु नेता तथा कार्यकर्तालाई भने प्रहरीसँग आत्मसमर्पण गरेकै कारण ६ महिनादेखि एक वर्षसम्म कारबाही गरिएका थुप्रै उदाहरण छन् ।

यसबाट नेकपाका धेरै कार्यकर्ता विप्लवसँग चिडिएका थिए ।

सरकारले लगाएको प्रतिबन्धका बेला पार्टी महासचिव विप्लवका कार्यालय सचिवको जिम्मेवारीमा रहेका पार्टी केन्द्रीय सदस्य असल क्षेत्रीसमेतले हिरासतबाट छुट्ने समयमा आत्मसमर्पण गरेको भन्दै ६ महिना पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएको थियो ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य चुणामणि वलीले आत्मसमर्पण नगरेकै कारण पनि कारबाही भोग्नु परेको थिएन । केन्द्रीय सदस्य ओली अहिले रौतहटमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार छन् । कारबाही फुकुवा गरेको केही महिनापछि असल क्षेत्रीलाई विप्लवले पार्टीको कार्यालय सचिवको जिम्मेवारी दिएका थिए ।

नेकपाले एनसेल कम्पनीले कर नतिरेको भन्दै निरन्तर बम आक्रमण गर्न थालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त पार्टीलाई प्रतिबन्ध लगाएको थियो । यद्यपि, तत्कालीन ओली नेतृत्वको सरकारसँग नै उक्त पार्टीले तीन बुँदे सहमति गरेपछि प्रतिबन्ध हटाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर