नवलपरासीमा मतदान केन्द्रको जिम्मा महिलालाई – Nepal Press

नवलपरासीमा मतदान केन्द्रको जिम्मा महिलालाई

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ । मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए ।

शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो ।

उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट र चार जना जिल्ला अदालत नवलपुरबाट रहेको छ । मतदान अधिकृत शान्ति गुरुङ, सहायक मतदान अधिकृत राधिका सापकोटा (घरेलु तथा साना उद्योग कार्यालय नवलपुर) सहायक कर्मचारी रचना ढुङ्गाना, सहायक कर्मचारी सुस्मिता पङ्गेनी र कार्यालय सहयोगी जीवकला केसी पराजुली गरेर पाँच जना सबै महिला कर्मचारीमात्रै खटाइएको शर्माले जानकारी दिए।

निर्वाचन केन्द्र महिलामैत्री र नमूना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको उनको भनाइ छ । विगतमा भएका निर्वाचनमा समेत नमूना कार्यअन्तर्गत महिलामैत्री मतदान केन्द्र हुन गरेका थिए । गत निर्वाचनमा शिव मावि कावासोती दुईमा महिला कर्मचारीमात्रै खटाइएको थियो । नवलपुरमा स्थानीय तह निर्वाचनका लागि ११३ मतदानस्थल र २९९ वटा मतदान केन्द्र रहेका छन् ।

सबै मतदानस्थलमा मतपत्र पुग्यो

नवलपरासीपूर्व नवलपुरका सबै मतदानस्थलमा मतपत्र पुगेको छ । स्थानीय तह निर्वाचनका लागि सबै मतदानस्थलमा मतपत्रलगायत आवश्यक सामग्री पुगेको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख शर्माले बताए।

जिल्लामा रहेका ११३ मतदानस्थलका २९९ मतदान केन्द्रमा आवश्यक पर्ने मतपत्र, मतपेटिकालगायत सामग्री पुगेको उनले बताए। नवलपुरको पहाडी क्षेत्र तथा यातायातका हिसाबले विकट मानिने मतदानस्थलमा समेत मङ्गलबार रातिसम्ममा मतपत्र, मतपेटिक पुगेको शर्माले बताए ।

जिल्लामा रहेका मतदानस्थलमध्ये १० वटा मतदानस्थललाई अतिसंवेदनशीलमा राखिएको छ । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, सञ्चार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिका आधारमा जिल्लाका १० वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ । यहाँ ३८ मतदानस्थललाई संवेदनशीलमा राखिएको छ भने ६५ वटा मतदानस्थललाई सामान्यमा राखिएको छ ।

निर्वाचन आयोगको तथ्याङ्कानुसार नवलपुरमा २०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या दुई लाख ५४ हजार ६१५ रहेको छ । जसमा पुरुष एक लाख २१ हजार ३८, महिला एक लाख ३३ हजार ५७३ र अन्य चार जना मतदाता रहेका छन् । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर