गेहेन्द्र शम्शेरदेखि विद्यासुन्दरसम्म : ७५ वर्ष क-कसले हाँके काठमाडौं ?
काठमाडौं । काठमाडौं म्युनिसीपालिटीको नाममा २००४ सालमै पहिलो पटक जनप्रतिनिधि चुनेका काठमाडौंका मतदाताले वैशाख ३० मा हुने निर्वाचनमा महानगरपालिको प्रमुख, उपप्रमुखसहित २९ वडाका अध्यक्ष र सदस्यहरू चयन गर्दै छन् ।
२००४ सालमा बनेको राणाकालीन वैधानिक कानूनले दिएको अधिकार अन्तर्गत निर्वाचित काठमाडौं म्युनिसीपालिटीको पहिलो सभापति गेहेन्द्रशमशेर थापा बनेका थिए । त्यस्तै शंकरदेव पन्त उपसभापति बनेका थिए ।
प्रजातन्त्र स्थापनापछि २०१० सालमा काठमाडौं नगरपालिकाको निर्वाचन भयो । महिलाले पहिलो पटक मताधिकार पाएको त्यस निर्वाचनमा १८ वडा रहेका थिए । सो निर्वाचनबाट नगर बोर्डको प्रमुखमा जनकमान श्रेष्ठ र उपप्रमुखमा प्रयागराज सिंह निर्वाचित भएका थिए ।
२०१४ सालमा भएको अर्को स्थानीय निर्वाचनबाट कांग्रेसका प्रयागराज सिंह प्रमुख बनेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ उपप्रमुख बनेका थिए ।
२०१७ सालमा प्रजातन्त्र खोसिएपछि काठमाडौं नगरपालिकाको नाम काठमाडौं नगर पञ्चायत हुन पुग्यो । २०४३ सालमा भएको काठमाडौं नगर पञ्चायतको निर्वाचनमा प्रतिबन्धित नेपाली कांग्रेसले पनि स्वतन्त्र उम्मेदवारहरू उठाएको थियो ।
स्वतन्त्र हैसियतमा निर्वाचन लडेरै हरिबोल भट्टराई मेयर र तीर्थमान डंगोल उपमेयरमा निर्वाचित भएका थिए । २०४६ सालमा राजाको जन्मोत्सव बहिस्कार गरेपछि उनीहरूलाई निलम्बन गरियो ।
प्रजातन्त्र पुनः स्थापना र २०४७ सालको संविधान निर्माणपछि २०४८ सालमा आमनिर्वाचन भयो । कांग्रेसबाट गिरिजाप्रसाद कोइराला बहुमतको प्रधानमन्त्री बने । कोइराला नेतृत्वको सरकारले नै २०४९ जेठमा स्थानीय निर्वाचन गरायो । सो स्थानीय निर्वाचनमा कांग्रेस देशभरिमै पहिलो र एमाले दोस्रो भएका थिए ।
काठमाडौं नगरपालिकाको मेयरमा कांग्रेसका पीएल सिंह र उपमेयरमा कांग्रेसकै नवीन्द्रराज जोशी निर्वाचित भएका थिए । सिंहकै कार्यकालमा २०५२ मंसिर २९ मा काठमाडौं महानगरपालिका घोषणा भएको थियो ।
प्रजातन्त्र पुनः स्थापनापछिको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको कार्यकाल सकिएपछि २०५४ मा पुनः स्थानीय निर्वाचन भयो । सो स्थानीय निर्वाचनमा नेकपा एमालेले देशैभरि सबैभन्दा धेरै जनप्रतिनिधि जित्यो । काठमाडौंमा एमालेका केशव स्थापित मेयर र विदुर मैनाली उपमेयरमा निर्वाचित भए ।
२०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता आफ्नो हातमा लिएपछि केही नगरहरूमा मेयर मनोनीत गरेका थिए ।
काठमाडौं महानगरमा अहिले मेयर पदको प्रत्याशी रहेका केशव स्थापित राजाद्वारा पुनः काठमाडौंको मेयरमा मनोनीत भए । यद्यपि माओवादीलाई ‘सहयोग’ गरेको आरोप लागेपछि राजाले नै स्थापितलाई हटाए ।
२०६२ मा शाही सरकारले नगरपालिकाहरूको निर्वाचन गरायो । प्रमुख दलहरूले बहिस्कार गरेको सो निर्वाचनमा मुस्किलले २० प्रतिशत मत खसेको थियो । काठमाडौं महानगरको मेयरमा राप्रपाका राजाराम श्रेष्ठ निर्वाचित भएका थिए ।
शाही शासनको अन्त्य र लोकतन्त्र स्थापनापछि स्थानीय निर्वाचन दलहरूको प्राथमिकतामा परेन । शान्ति प्रक्रिया र संविधान लेखनका लागि दलहरूले लामो समय लिए । त्यही कारण २०७२ मा संविधानसभाबाट पारित भएको संविधानका आधारमा २०७४ मा मात्रै स्थानीय निर्वाचन सम्भव भयो ।
७ सय ५३ स्थानीय तहमा भएको निर्वाचनमा नेकपा एमाले पहिलो र नेपाली कांग्रेस दोस्रो शक्ति बने । काठमाडौं महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य विजयी भए भने उपमेयरमा कांग्रेस उम्मेदवार हरि प्रभा खड्गी विजयी भइन् ।
२०७४ मा निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल सकिएसँगै यही वैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन हुँदै छ ।
६ वटा महानगर र ११ वटा उपमहानगरसहित ७ सय स्थानीय तहमै हुने निर्वाचनका लागि दलहरूले प्रचार प्रसार सिद्ध्याइसकेको अवस्था छ ।
देशकै सबैभन्दा ठूलो काठमाडौं महानगरको नेतृत्व लिन सत्तारुढ गठबन्धनबाट सिर्जना सिंह र नेकपा एमालेबाट केशव स्थापित मैदानमा छन् ।
काठमाडौं महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेका छन् ।