मौन अवधिमा भोट मागेको समाचार डिलिट गर्न मुख्य निर्वाचन अधिकृतको दबाब, पत्रकार महासंघको विरोध – Nepal Press

मौन अवधिमा भोट मागेको समाचार डिलिट गर्न मुख्य निर्वाचन अधिकृतको दबाब, पत्रकार महासंघको विरोध

प्रशासन र निर्वाचन आयोगको विरोधमा एमालेको प्रदर्शन

भोजपुर । भोजपुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार कैलाशकुमार आलेले मौन अवधिमा भोट मागेको भिडिओसहितको समाचार हटाउन मुख्य निर्वाचन अधिकृतले पत्रकारलाई दबाब दिएका छन् ।

स्थानीय अनलाइन नागरिक आवाज डटकममा भोजपुर– ४ गुप्तेश्वरमा बुधबार बिहान आलेले भोट मागेको भिडिओसम्बन्धी समाचार प्रकाशित भएको थियो । अनलाइनका सञ्चालक बुद्धप्रसाद तामाङले आफूलाई फोन गरेर मुख्य निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तले समाचार तत्काल डिलिट गर्न दबाब दिएको बताए ।

‘आचारसंहिताविपरीत समाचार लेखेको भन्दै हिजो फोन गरेर न्यूज हटाउन दबाब दिनुभयो । केही धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएको टेलिफोनको अडिओ पनि मसँग सुरक्षित छ । हामीले भिडिओ प्रमाणसहित मौन अवधिमा धम्की दिएर भोट मागेको समाचार लेखेका हौं तर उहाँले समाचार नै हटाउन दबाब दिनु कुन आचारसंहिता दिने हो ?’, तामाङले नेपाल प्रेससँग भने ।

न्यायाधीश पन्तले एक घण्टाभित्र समाचार डिलिट गर्न र समाचारको स्रोत कारणसहित १६ घण्टाभित्र स्पष्टीकरण दिन लिखित जवाफ पनि मागेका छन् ।

यसैबीच नेपाल पत्रकार महासंघ भोजपुर शाखाले विज्ञप्ति निकाल्दै पत्रकारमाथि अनावश्यक दबाब दिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अध्यक्ष एक्सन राईले विज्ञप्तिमा लेखेका छन्, ‘जिम्मेवार निकायबाट समाचार लेखेकै विषयलाई लिएर एकपक्षीय रुपमा आचारसंहिता उल्लंघनको हवाला दिँदै प्रकाशित भइसकेको समाचार हटाउन र फोन गरेर अनावश्यक दबाब दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाचार हटाउन अल्टिमेटम दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा उल्लेख छ ।

मुख्य निर्वाचन अधिकृत पन्तले आफूकहाँ उजुरी आएकोले उक्त कदम चालेको दाबी गरे । मौन अवधिमा मतदातालाई प्रभावित पारेको भिडिओसहितको समाचार प्रकाशित गर्दा आचारसंहिता उल्लंघन हुन्छ र ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले उजुरी आएपछि स्पष्टीकरण सोधेका हौं हामी कसैको पक्षपाती भएका छैनौं भनेर सतही जवाफ दिए ।

प्रशासन र निर्वाचन आयोग तटस्थ नभएको भन्दै एमालेको विरोध

यता आफ्ना कार्यकर्ता र चढेको गाडीमाथि कांग्रेसका कार्यकर्ताले आक्रमण गर्दा उल्टै प्रहरीले गाडी कब्जा गरेको भन्दै जिम्मेवार निकायले तटस्थ भूमिका निर्वाह नगरेको एमाले भोजपुरको टिप्पणी छ । प्रेस लेखिएको गाडीमा चुनावी गतिविधि गरेको कांग्रेसको आरोप छ ।

‘गएराति कांग्रेसको प्रचारप्रसारमा हिँडेको गाडी स्थानीयले कब्जामा लिएर प्रहरीलाई खबर गर्दा गाडी छाडियो तर हामीमाथि उल्टै आक्रमण हुँदा पूर्वाग्रही राखियो’, एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले भने ।

त्यसको विरोधस्वरुप एमाले युवाहरुले भोजपुर बजारमा मौन र्याली निकालेको थियो । सो क्रममा प्रहरीसँग ठेलामठेलसमेत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *