डा. भट्टराईले कसरी खिचाए मतपत्रमा छाप लगाउँदै गरेको फोटो ? निर्वाचन आयोग नै चकित – Nepal Press

डा. भट्टराईले कसरी खिचाए मतपत्रमा छाप लगाउँदै गरेको फोटो ? निर्वाचन आयोग नै चकित

फोटो सार्वजनिक गर्ने व्यक्ति र मतदान अधिकृतलाई समेत कारबाही हुन्छः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । आफूले मतपत्रमा स्वस्तिक छाप हान्दै गरेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विवादमा तानिएका छन् । गोप्य मतदानका क्रममा यसरी यसरी स्वस्तिक छापसहितको मतपत्र सार्वजनिक गर्न पाइँदैन ।

डा. भट्टराईले गोरखाको पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय बुथमा मतदान गरेका थिए । मतदानलगत्तै उनले केही तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरे । जसमध्ये तस्वीरमा उनले मतपत्रमा स्वस्तिक छाप लगाइरहेको देखिन्छ । तीनवटा छाता चिन्हमा उनले स्वस्तिक छाप लगाएको तस्वीरमा देखिएको छ ।

डा. भट्टराईको यो तस्वीरले निर्वाचन आयोगसमेत आश्चर्यमा परेको छ । पालुङटार नगरपालिकाका निर्वाचन आयुक्त गोकर्णराज पन्तले आफूलाई भर्खरै उक्त घटनाबारे जानकारी आएकाले थप बुझ्ने काम भइरहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘मलाई प्रमुख निर्वाचन आयुक्तज्यूले नै फोन गरेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत फोटो सार्वजनिक गरेको जानकारी गराउनुभयो । उक्त मतदान केन्द्र अलिकति टाढा भएकाले त्यसबारेमा बुझ्ने काम भइरहेको छ । केही थप जानकारी आएपछि जानकारी गराउँला ।’

यता निर्वाचन आयोगका सहन्यायाधिवक्ता गुरुराज वाग्लेले विभिन्न सञ्चारमाध्यमबाट उक्त जानकारी पाइसकेपछि थप विवरण लिने काम भइरहेको बताए । उनले भने, ‘यसबारेमा सञ्चारमाध्यममार्फत नै जानकारी पायौं । प्रमुख निर्वाचन आयुक्तज्यूलाई पनि जानकारी प्राप्त भइसकेको छ ।’

कानूनतः स्वस्तिक छापसहितको मतपत्र सार्वजनिक गर्नेलाई मतदान अधिकृतले घटनास्थलमै १५ हजार जरिवाना तिराउनुपर्ने वाग्लेको भनाइ छ ।

‘अब के कसरी भएको रहेछ बुझिरहेका छाैं । थप केही कारबाही भयो भने आयोगले जानकारी गराउँछ’, उनले भने ।

प्रमुख आयुक्त भन्छन्ः मतदान अधिकृतलाई पनि कारबाही हुन सक्छ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त घटनाबारे बुझ्नका लागि आफूले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘निर्वाचन अधिकृतले म आफै घटनास्थलमा गएर बुझ्छु भन्नुभएको छ । यदि बुथभित्रै खिचेको रहेछ भने मतदान अधिकृतसहित त्यहाँ रहेका कर्मचारीलाई पनि कारबाही हुन्छ ।’

कसरी खिचियो तस्वीर ?

डा. भट्टराईले मतपत्रमा छाप लगाउँदै गरेको तस्वीर खिच्न कसरी सम्भव भयो भन्ने पनि प्रश्न छ । बुथभित्र गोप्य स्थानमा मत हाल्ने प्रावधान छ, जहाँ मतदाताबाहेक दोस्रो व्यक्ति जान पाउँदैन । अशक्त वा आफैले मत हाल्न नसक्ने व्यक्तिले मात्रै सहयोगी लैजान पाउँछन् ।

नेताहरुले मतदान गरेको तस्वीर सञ्चारकर्मीले खिच्न सक्छन्, तर निश्चित दूरीमा बसेर । मतपत्रमा छाप लगाउनुअघि र छाप लगाएर बाकसमा खसाउने बेलाको मात्रै फोटो खिच्न सकिन्छ । गोप्य स्थानमा छाप लगाइरहेको तस्वीर खिच्न सम्भव हुँदैन ।

प्रमुख आयुक्त थपलियाका अनुसार गोप्य मतदान केन्द्रमा मतदाताले सहयोगी, मोबाइल तथा क्यामेरा पनि लैजान नपाउने व्यवस्था छ ।
उनले भने, ‘सहयोगी, मोबाइल वा क्यामेरा केही पनि लिन पाइँदैन । तर, फोटो हेर्दा गोप्य मतदान कक्षमा नै सहयोगी तथा मोबाइल लगेरै खिचेको जस्तो देखिन्छ । यतिसम्म गर्न कसैले छुट पाउँदैन ।’ उनले फोटो खिच्न पाउने सञ्चारकर्मीलेसमेत तोकिएको र अनुमति दिएको ठाउँमा मात्र फोटो खिच्न पाउने बताए ।

यस्तोमा डा. भट्टराईको सहयोगीले भित्रै पसेर फोटो कसरी खिचे भन्ने रोचक विषय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर