बालकृष्ण दाइ ! रामचन्द्रको गाउँमा मलाई मार्न खोज्दा तपाईं असल दाइ बन्न सक्नुभएन
आदरणीय बालकृष्ण दाइ,
तपाईं सन्चै हुनुहुन्छ होला । तर म यतिबेला फ्रन्टलाइन अस्पतालको आईसीयु बेड नम्बर १ मा छु । तपाईंलाई गृहमन्त्री भनेर सम्बोधन गर्न मन लागेन किनकि मैले तपाईंलाई दाइको नाताले चिनेको हुँ र गृहमन्त्री भनेर सम्बोधन गर्दा दाइको नाता फितलो हुन्छ जस्तो लाग्यो । र, अर्को कुरा सायद तपाईं दाइ नै भएको भए मेरो हत्या हुन लाग्दा बचाउने कोसिस गर्नुहुन्थ्यो होला । तर गृहमन्त्रीको हैसियतलाई दाइको नाताले जित्न नसक्ने रहेछ। म सायद भाग्यमानी थिएँ, त्यसैले आज तपाईंलाई यो पत्र लेख्न सक्षम नै छु। मैले राजनितीमा प्रवेश गर्नुमा तपाईंको ठूलो हात छ किनकि एउटा स्वच्छ छवि भएको राजनीतिज्ञ भनेर मैले सम्झने नामहरुमा तपाईंको नाम सदैव आउँथ्यो । तर, आज दाइको राजनीति अलि फरक भएको महसुस गरेको छु ।
यो तपाईंले शान्ति सुरक्षा धानिरहेको व्यवस्था हो र यही व्यवस्थामा तपाईंको भाइमात्र नभएर एउटा स्वतन्त्र रुपमा राजनीतिमा प्रवेश गर्न लागेको युवाको हत्या प्रयास भएको छ । जुन कुरा कतिको जायज हो ? कतिको न्यायोचित हो र कतिको बर्बरतापूर्ण समयको प्रतिनिधि घटना हो ? तपाईं आफै बुझ्नुहुन्छ ।
रामचन्द्र पौडेलको गाउँमा मेरो हत्या प्रयास हुँदासम्म न त्यो रोकियो न त मलाई त्यहाँबाट छिटो निकाल्ने प्रयास नै भयो । उल्टो सीडीओ, पुलिसलगायतका विपक्षका थुप्रै मिलेर दीपकराज जोशीले मतपत्र च्यात्यो भन्ने जस्तो गम्भीर आरोप मलाई लाग्यो ।
म एउटा स्वतन्त्र उम्मेदवार न हुँ । के नै फरक पर्थ्यो र मैले चुनाव जित्दैमा या हार्दैमा रु मैले सम्पूर्ण बुथमा आफ्नो उपस्थिति जनाउने मनसायले अन्य बुथमा गएसरह उक्त बुथमा अर्थात् व्यास नगरपालिकाको रिस्तीमा पनि सामान्य तवरले नै उपस्थिति जनाउनमात्र गएको थिएँ । झगडाकै मनसायले गएको भए आइलाग्नेमाथि जाइलाग्ने भन्ने कुराको हेक्का राखेरै जान्थेँ होला । हुन त म बदलामा विश्वास नगर्ने मान्छे हुँ । तर पनि आफ्नो सुरक्षा व्यवस्था गरेर जानसम्म सोच्थेँ होला । त्यहाँ पुगेर पनि मैले भनेको यतिमात्र हो कि बुथमा सबै पार्टीको एजेन्ट हुनुपर्छ ।
यो कुन शासनकाल हो र यहाँ कसले कसले मात्रै बोल्न मिल्छ रु स्पष्ट पारिदिनुभयो भने त्यहीअनुसारको अनुशरण गर्दै जान्छन् जनताले । होइन भने जायज कुरा बोल्नेबित्तिकै कुटपिट गर्ने र ज्यान मार्ने योजनासहितको आक्रमणले जनमानसमा कुन युगको आभास दिँदैछ ?
दाइ, एउटा कुरामा ढुक्क हुनुस् । म यसकारण राजनीतिमा उदाउँदो तारा बनेर होमिएको हुँ कि मलाई थुप्रै बेथितिले पोलेको छ । हुन त म राजनीति गरेर कुनै पदमा पुग्छु या पुग्दिनँ बेग्लै विषय हो । तर यदि म त्यहाँ पुगेँ भने त्यो समयसम्म तपाईं पूर्वगृहमन्त्री बनिसक्नु हुनेछ । त्यो बेला आज जस्तो घटना हुने छैनन् । तपाईंको सवारीसाधन तोडफोड हुने वातावरण बन्ने छैन । तपाईका छोरीचेली बलात्कारको शिकार हुने छैनन् । तपाईंका छोरानातिको हत्या प्रयास हुने छैन । यो ग्यारेन्टी मेरो भयो । जसरी मेरो उपस्थिति नै मेटाउने दुष्प्रयास हुँदासम्म पनि यो देशको शान्ति सुरक्षामाथि प्रश्न गरिएको छैन, यो स्थिति हामीले अभ्यास गरिरहेको व्यवस्थामा भद्दा मजाकबाहेक केही होइन । हो, हदैसम्मको हिप्पोक्रेसी हो ।
तपाईं सक्षम गृहमन्त्री बन्न सक्नु भयो या भएन, इतिहासले बताउने छ । तर दाइ तपाईं एउटा असल दाइ बन्न सक्नु भएन । भाइको रक्षा गर्न सक्नु भएन । हुन त हामी हिन्दू धर्मको अभ्यास गरेर हुर्केका मान्छे हौँ । कतै न कतै त यसको लेखाजोखा पक्कै हुन्छ होला ।
यतिबेला मेरो स्वास्थ्य अवस्था ठीक छैन, मेरो देशका धरै दाजुभाइको स्वास्थ्य ठीक छैन । तर पनि भाइको नाताले यहाँको सुस्वास्थ्यको कामना गर्दछु ।
दाइ तपाईंलाई तपाईंका बाआमाले बालकृष्ण भनेर नाम दिनु भयो । कृष्णले त केबल मखन चोरेका थिए । बाँकी त उनले जे गरे लोककल्याणकारी काम नै गरे । तर तपाईं गृहमन्त्री हुँदै गर्दा तपाईंकै पार्टीका मान्छेले एउटा वृद्ध बाआमाको कोख रित्याउने प्रयास गर्दासमेत तपाईं कुन मुटु लिएर आनन्दले निदाएर बस्नु भएको थियो ?
जवाफ दिन सक्नुहुन्छ ?
मलाई तपाईंप्रति कुनै आग्रह पूर्वाग्रह छैन र रहँदैन पनि । तर, यतिबेला मभित्र यति धेरै प्रश्नहरु सवाल गरिरहेका छन् कि जसको उत्तर खोज्ने प्रयास गर्दैछु ।
कुनै पनि राज्य व्यवस्थामा पदीय जिम्मेवारी बहन गरिसकेपश्चात मान्छे पदको हुन्छ, मान्छे जनताको हुन्छ न कि पार्टीको । तर तपाईं किन पार्टीको मान्छे बनिरहनु भयो ? तपाईंले बहन गर्ने दायित्वभित्र के तपाईंले टेकेर माथि पुगेको जमिनमात्रै हो ? तपाईंमाथि भएको शान्ति सुरक्षाको जिम्मा क–कसको हकमा लागू हुने हो प्रस्ट पारिदिनु भयो भने मलगायत सम्पूर्ण जनताको कौतुहलता मेटिनेछ ।
उही तपाईंलाई दाइ सम्बोधन गर्ने
दीपकराज जोशी
व्यास नगरपालिका, तनहुँ ।