डोटीको सायलमा कांग्रेस विजयी
डोटी । डोटीको सायल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित भएका छन् । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन् ।
उनीहरू दुवैजना २०७४ को स्थानीय तह निर्वाचनका पनि प्रतिस्पर्धी हुन् । त्यतिबेला डुम्रेल निर्वाचित भएका थिए ।
जोशीले यसपटक ३ हजार २४३ मत प्राप्त गरी जित हासिल गर्दा डुम्रेल २ हजार २४० मा रोकिए । नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि कांग्रेसकै निर्मला बोहरा ओली निर्वाचित भइन् । उनले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्णादेवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन् । सिंह निवर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एसका टिका सिंहले ६ सय २६ मत प्राप्त गरे ।
६ वटा वडा रहेको यो पालिकामा ५ वटामा कांग्रेस जित्दा एक वडामा एमाले जित्यो । अघिल्लो निर्वाचनमा एकमात्रै कांग्रेसले जितेको थियो भने, पाँचमा एमाले जितेको थियो ।
यसपटक वडा नम्बर १ मा एमालेका लालबहादुर रोकायाको प्यानल विजयी हुँदा बाँकी वडामा कांग्रेसको प्यानल विजयी भए । जसमा वडा नम्बर २ मा मानबहादुर सिंह, वडा नम्बर ३ मा नवराज उपाध्याय, वडा नम्बर ४ मा जगतबहादुर सिंह, वडा नम्बर ५मा बहादुर साउँद र वडा नम्बर ६ मा दीपकबहादुर साउँदको प्यानल विजयी भएको छ ।