काठमाडौंवासीले भेट्टाएको लौरोः विजयपथमा बालेन !
काठमाडौं । कछुवा गतिमा चलिरहेको काठमाडौं महानगरको मतगणना तेस्रो दिनसम्म पनि पूर्वार्द्धमा छ । तर, सम्भावित नतिजाको पूर्वाभासले अहिल्यै धेरै मतदाताहरू रोमाञ्चित बन्न थालेका छन् ।
सुरूवाति मतगणनामा देखिएको ट्रेन्ड पछिसम्म कायम रह्यो भने काठमाडौं महानगरले प्रमुख दुई पदमा पाउने छ, दुई आशालाग्दा तन्नेरी जोडी । उनीहरूले भविष्यमा के गर्लान्/नगर्लान् अहिल्यै पूर्वानुमान गर्न कठिन छ । तर, राजनीतिभन्दा बाहिरबाट आएका उर्जाशील युवा र युवती मेयर-उपमेयरको कुर्सीमा बस्दा एकप्रकारको ताजापन पक्कै महसुस हुनेछ ।
मतदान सुरू हुनुअघिसम्म धेरैले भनिरहेका थिए- सामाजिक सञ्जालको समर्थनले केही पनि लछारपाटो लाग्दैन । ग्राउन्ड रियालिटी अर्कै हुन्छ । २०७४ सालको संसदीय चुनावमा विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले सामाजिक सञ्जालमा यस्तै चर्चा र समर्थन पाएका थिए । तर, प्रकाशमान सिंहसँग चुनाव हारे । बालेनको चुरीफुरी पनि मतगणना सुरू भएपछि समाप्त हुने राजनीतिक कार्यकर्ताहरूको दाबी थियो । तर, त्यस्तो भएन । बालेनको हकमा सामाजिक सञ्जालको समर्थन धेरै हदसम्म मतपत्रमा प्रतिबिम्बत भएको छ । लछारपाटो लाग्लाजस्तो छ ।
र्यापरका रूपमा चिनिएको एउटा सामान्य ठिटो स्वतन्त्र उम्मेदवारी दिएर विशाल जनाधार भएका दलहरूलाई पन्छाउँदै काठमाडौंको मेयरमा अग्रता लिनु वास्तवमै अभूतपूर्व हो । एक महिना अगाडिसम्म यस्तो मतपरिणामको कल्पना नै गरिएको थिएन । उनीप्रति सदासहायता राख्नेहरूले पनि बालेनले जित्छन् कि हार्छन् होइन, कति भोट काट्छन् भन्ने ढंगले बहस गर्थे ।
अहिलेसम्मको अग्रता हेर्दा बालेन र सुनिता दुवै विजयको बाटोमा देखिएका छन् । सुनिताको जितमा त दुई मत नै छैन । तर, बालेनको हकमा भने अझै पनि धेरैले सन्देह व्यक्त गरिरहेका छन् । काठमाडौंको भित्री बस्तीहरूको मतगणना बाँकी रहेकाले नतिजा उलटफेर हुन सक्ने कांग्रेस-एमाले समर्थकहरूको तर्क छ । यद्यपि, उनीहरू आत्मविश्वासी भने सुनिँदैनन् ।
सबैभन्दा सुरूमा यही पक्षमाथि विवेचना गरौं । के बालेन चुनाव हार्न सक्छन् ?
यो आलेख लेख्दै गर्दासम्म काठमाडौं महानगरमा करिब १५ हजार मत गनिएको छ । यो भनेको कुल मत १ लाख ९० हजार ९ सय ५६ को १० प्रतिशत भन्दा कम हो । ९० प्रतिशतभन्दा बढी मत गन्न बाँकी रहेको अवस्थामा कांग्रेस-एमालेमा धिपधिपे आशा बाँकी रहनु अन्यथा पनि होइन । तर, ६ वटा वडामा जसरी मत खसिरहेको छ, त्यसले बालेन समर्थकहरू निश्चिन्त बनेका छन् ।
अहिलेसम्म दुईवटा वडाको मतगणना सकिए । मतगणना सकिएका वडा नम्बर १ र २ एमालेको गढका रूपमा चिनिन्छन् । अघिल्लो स्थानीय चुनावमा एमालेले यी वडाहरूमा फराकिलो अन्तरले जित हासिल गरेको थियो । यसपाली पनि दुवै वडाध्यक्षमा एमाले उम्मेदवार विजयी भइसकेका छन् ।
अब यी वडाहरूबाट वडाध्यक्षलाई परेको मत र एमाले मेयर उम्मेदवारलाई परेको मत हेरौं । एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ भोट ल्याएर विजयी भएका छन् । जबकि मेयर उम्मेदवार स्थापितलाई यो वडाबाट ३६५ भोट मात्रै आएको छ । वडाध्यक्षमा एमालेलाई परेको २५७ भोट मेयर अन्तै गएको छ ।
यस्तै, वडा नम्बर २ मा एमालेका राजेन्द्रकुमार श्रेष्ठ १३७९ मत ल्याएर विजयी भएका छन् । यो वडाबाट स्थापितलाई ७५९ मत मात्रै परेको छ । यहाँ पनि स्थापितलाई वडाध्यक्षभन्दा ६२० कम मत परेको छ ।
कांग्रेसको पनि उही अवस्था छ । वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ५९८ भोट ल्याउँदा मेयर उम्मेदवार सिर्जना सिंहले ४५१ भोट ल्याएकी छन् । वडा नम्बर २ मा वडाध्यक्ष उम्मेदवारले ९२६ भोट ल्याउँदा सिंहलाई ४९७ भोट मात्र आएको छ । वडा नम्बर १ मा १४७ र वडा नम्बर २ मा ४२९ ‘कांग्रेसी भोट’ सिर्जनाले गुमाएको देखिन्छ ।
कुल मिलाएर यी दुई वडामा एमालेका ८७७ र कांग्रेसका ५७६ भोट डाइभर्ट भएका छन् । कता गए त यी भोट ? जवाफ सजिलो छ- लौरोमा ।
मतगणनामा सहभागीहरूका अनुसार धेरै मतपत्रहरू यस्ता भेटिने गरेका छन्, ६ वटा स्वस्तिक छाप एउटै चुनावचिन्हमा हानिएका हुन्छन् र एउटा चाहिँ लौरोमा । यसको अर्थ कांग्रेस र एमालेका परम्परागत र प्रतिवद्ध मतदाताले पनि मेयरमा लौरो रोजिरहेका छन् ।
अब सबैको चासो छ, भित्री नेवार बस्तीहरूमा पसेपछि के होला ? काठमाडौंको रैथाने नेवार समुदाय परम्परागतरूपमै कांग्रेस र एमालेमा विभाजित छ । उनीहरूले नयाँ पार्टी र उम्मेदवारलाई सहजै स्वीकार नगर्ने मनोविज्ञान पाइन्छ । उनीहरूलाई सानोतिनो लहरले लतार्न सक्दैन । साथै गुठीले गर्ने निर्णयले पनि धेरै प्रभाव पार्छ ।
काठमाडौंका वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ कोर एरियाभित्र पर्छन् । यी वडाहरूमा डल्लु, सोह्रखुट्टे, क्षेत्रपाटी, नरदेवी, भीमसेनस्थान, ज्वहाल, टेबहाल, ओमबहादु, मखनटोल, महाबौद्ध आदि टोलहरू रहेका छन् । बालेनले यस्ता टोलहरूमा पेनिट्रेट गर्न सकेका छैनन् भन्ने राजनीतिक दलहरूको विश्वास छ ।
‘कोर सिटी’ मा प्रवेश गरिसकेपछि बालेनको अग्रता केही घट्नसक्ने आँकलन गलत होइन । माथि उल्लेखित वडामा उनी दोस्रो वा तेस्रो हुन सक्छन् । तर, कोर सिटीकै भोटको बलमा स्थापित वा सिर्जनाले बालेनलाई उछिन्न सक्ने सम्भावना न्यून देखिन्छ । बाहिरी क्षेत्रबाट बालेनले कायम गर्ने अन्तराललाई कोर सिटीभित्रको भोटले ढाकछोप गर्न स्थापित वा सिर्जनाका निम्ति निकै दुरुह छ ।
यसमा अर्को सानो फ्याक्टर पनि हेर्नुपर्छ । मेयरमा उठेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले पनि नेवार वस्तिबाट केही भोट बटुल्ने छन् । गुठी अभियन्ताका रूपमा परिचित बनेका सायमीको १२, १३, १५ र १७ नम्बर वडामा प्रभाव रहेको बताइन्छ । ती वडाबाट यदि उनले उल्लेख्य भोट प्राप्त गरे भने धक्का लाग्ने भनेको स्थापित र सिर्जनालाई हो बालेनलाई होइन । सायमीले रैथाने नेवारहरूको भोट पाउने हुन्, जुन अन्यथा स्थापित वा सिर्जनालाई जाने थियो । त्यो भनेको बालेनका लागि फाइदाजनक हुन्छ ।
लहरका दुई कारण
ह्वीमको अगाडि राजनीतिशास्त्रका सिद्दान्त फेल खान्छन् । एक महिना अगाडिसम्म यी युवक आफूहरूको प्रतिस्पर्धामा आउलान् भन्ने कांग्रेस-एमालेको दिमागमै थिएन होला । तर, केहीदिनमै यस्तो ह्वीम चल्यो कि बालेन र लौरो यत्रतत्र छाउन पुगे ।
आखिर किन काठमाडौंका मतदाता यसरी बालेनतिर झुम्मिए ? सहायक कारणहरू धेरै हुन सक्छन्, तर मुख्य कारण दुईवटा छन् । पहिलो, मतदाताले ताजा र क्षमतावान अनुहारको खोजी गर्नु । दोस्रो, प्रमुख दलका उम्मेदवार गतिला नहुनु ।
विगतदेखि काठमाडौंका मतदाताको परिवर्तनशील मनोविज्ञान देखिँदै आएको छ । पञ्चायतकालमा नानीमैया दाहालदेखि गत स्थानीय चुनावमा रञ्जु दर्शनासम्म आइपुग्दा काठमाडौंको जनमत ‘अनप्रेडिक्टेबल’ पाइन्छ । प्रजातन्त्र स्थापनापछिका लोकप्रिय प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर उदियमान युवानेता मदन भण्डारीलाई जिताउने यही काठमाडौं हो । दोस्रो संविधानसभा चुनावमा राजावादी पार्टी राप्रपा नेपाललाई समानुपातिकमा सर्वाधिक मत दिने यिनै काठमाडौंबासी हुन् । यसर्थ कुनै पनि दलले काठमाडौंमा आफ्नो मजबुत पकड छ भन्ने ठानेर निर्धक्क बस्न सक्ने अवस्था हुँदैन ।
यो पाली स्वतन्त्र उम्मेदवारको पछि कुदेका छन् काठमाडौंबासी । स्थानीय चुनावमा दल होइन व्यक्ति हेर्ने सही मनोविज्ञान प्रदर्शन भएको छ । बालेनले युवा वा नयाँ अनुहार भएकाले मात्रै मत पाएका होइनन् । पुराना दलहरूबाट फ्रस्टेसन भएर मतदाताले उनलाई छाँद हालेको पनि पूरा सत्य होइन । बालेनको क्षमतामै काठमाडौंवासीले आश गरेका हुन् ।
उम्मेदवार भएयता बालेनले दिएका अन्तरवार्ताहरूमा उनको प्रस्तुति र बौद्धिकताले धेरैलाई प्रभावित तुल्याएको छ । उनले अरु पार्टी र नेताहरूलाई गालीगलौज गर्ने, आलोचना गर्नेभन्दा पनि आफ्नो भिजन मात्रै प्रस्तुत गर्न खोजे । त्यो शिष्टता र संयमले बालेनलाई दिनप्रतिदिन लोकप्रिय बनायो । स्ट्रक्चरल इन्जिनियरका रूपमा देशका विभिन्न भागमा गएर विकास-निर्माणका काममा संलग्न भएको अनुभवका कारण पनि उनीप्रति मतदाताको विश्वास बढेको छ ।
अब दोस्रो फ्याक्टरतर्फ जाउँ । काठमाडौंमा यसपाली मेयरको मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै थिए । तर, दुवै पार्टीले उम्मेदवार चयनमा सोचविचार पुर्याएनन् । कांग्रेसले लामो समयदेखि राजनीतिमा निस्क्रिय एक नेतापत्नीलाई टिकट दियो, जसले मेयरका रूपमा काठमाडौं हाँक्न सक्छिन् भनेर विश्वास गर्ने कुनै आधार थिएन । उनको क्षमतामा कांग्रेसकै मतदाताले विश्वास गर्न सकेनन् । त्यसमाथि नातावादका आधारमा टिकट पाएको आरोप उनले खेप्नुपर्यो ।
‘कोर सिटी’ मा प्रवेश गरिसकेपछि बालेनको अग्रता केही घट्नसक्ने आँकलन गलत होइन । माथि उल्लेखित वडामा उनी दोस्रो वा तेस्रो हुन सक्छन् । तर, कोर सिटीकै भोटको बलमा स्थापित वा सिर्जनाले बालेनलाई उछिन्न सक्ने सम्भावना न्यून देखिन्छ । बाहिरी क्षेत्रबाट बालेनले कायम गर्ने अन्तराललाई कोर सिटीभित्रको भोटले ढाकछोप गर्न स्थापित वा सिर्जनाका निम्ति निकै दुरुह छ ।
यता एमालेले रोजेका उम्मेदवार जनमानसमा लोकप्रिय थिएनन् । राजनीति जीवनमा अत्यन्तै अस्थिर उनी कहिले माओवादी कहिले राजावादी बनेर लर्बराइरहे । त्यसमाथि मेयरको उम्मेदवार बनेपछि निम्नस्तरका अभिव्यक्तिहरू दिएर लगातार विवादमा आइरहे । उनको बोलिचालि र हाउभाउले धेरै मतदातालाई ‘इरिटेटेड’ तुल्यायो । अहिले जति भोट पाइरहेका छन्, त्यो सबै एमालेमा प्रतिवद्ध भोट हो, स्थापितको व्यक्तिगत होइन । कांग्रेस वा एमालेले यदि सक्षम र असल छवि भएको लोकप्रिय नेतालाई उम्मेदवार बनाएको भए काठमाडौंमा बालेनले यसरी छाउने अवसर नपाउन सक्थे ।
काठमाडौंमा कुनै पार्टीप्रति आस्था नरहेको तटस्थ जनमत पनि निकै बलियो छ । खासगरि ३० वर्षमुनिका युवा पुस्ताका अधिकांस कुनै पार्टीप्रति झुकाव राख्दैनन् । र, चुनावमा यस्तो भोट निर्णायक बन्न सक्छ । अघिल्लो चुनावमा रञ्जु दर्शना र किशोर थापालाई कुल मिलाएर ४२ हजार भोट गएको थियो । यसपाली त्यो भोटको ठूलो हिस्सा स्वतः बालेनतिर ओइरियो । यसरी तटस्थ मतसँगै कांग्रेस र एमालेबाट चुँडेका मतले बालेनलाई मतमेटिकामा बलियो बनाइदिएको छ ।
अप्रत्याशित शक्तिआर्जन
र्यापरका रूपमा चिनिएको एउटा सामान्य ठिटो स्वतन्त्र उम्मेदवारी दिएर विशाल जनाधार भएका दलहरूलाई पन्छाउँदै काठमाडौंको मेयरमा अग्रता लिनु वास्तवमै अभूतपूर्व हो । एक महिना अगाडिसम्म यस्तो मतपरिणामको कल्पना नै गरिएको थिएन । उनीप्रति सदासहायता राख्नेहरूले पनि बालेनले जित्छन् कि हार्छन् होइन, कति भोट काट्छन् भन्ने ढंगले बहस गर्थे ।
आज घरघरमा चर्चाको पात्र बनेका बालेन पहिला युवाहरूको एउटा सानो जमातमा मात्रै परिचित थिए । उनले यही सानो परिचयका बलमा काठमाडौंको मेयर बन्ने सपना देखेका होइनन् । उनले मेयरका लागि पाँच वर्षदेखि योजनाबद्ध तयारी गरेको बताउने गरेका छन् ।
मतगणनामा सहभागीहरूका अनुसार धेरै मतपत्रहरू यस्ता भेटिने गरेका छन्, ६ वटा स्वस्तिक छाप एउटै चुनावचिन्हमा हानिएका हुन्छन् र एउटा चाहिँ लौरोमा । यसको अर्थ कांग्रेस र एमालेका परम्परागत र प्रतिवद्ध मतदाताले पनि मेयरमा लौरो रोजिरहेका छन् ।
सरकारले स्थानीय चुनावको मिति घोषणा गरेदेखि बालेनले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरे । सुरूमा सिमित युवायुवतीहरूको मात्रै ध्यान तानिएको थियो । रुटिन अफ नेपाल बन्द लगायतका केही फेसबुक पेजहरूले लगातार प्रमोट गरेपछि बालेन बिस्तारै चर्चामा आएका हुन् ।
सुरूमा बालेनको उम्मेदवारीबाट ठूला दलले कुनै थ्रेट महसुस गरेका थिएनन् । उनले यो लेवलको चर्चा पाउलान् भन्ने कसैको कल्पनामै थिएन । बालेनले चुनाव जित्ने कुरा गर्दा त्यो हास्यास्पद सुनिन्थ्यो । सम्भवतः उनी आफैंलाई यो विश्वास थिएन । तर, केही दिनभित्रै नसोचेको उभार आइदियो ।
बालेन कुनै संगठित समूहबिनै चुनाव लडेका हुन् । उनी नितान्त एक्लै थिए । केही नजिकका साथीहरूले उनलाई साथ दिए । तर, टिम भन्नलायक समूह उनीसँग थिएन र छैन । उनले चुनाव लड्नलाई एउटा सम्पर्क कार्यालय पनि खोलेनन् । कहिल्यै केहीको वैठक बसेनन् । कहिले यो साथीकोमा कहिले त्यो साथीकोमा जम्मा हुने गर्थे । चुनावको १० दिनअघि देखि भने नयाँ वानेश्वरमा एक शुभचिन्तकले उपलब्ध गराएको फ्ल्याट उनीहरूले प्रयोग गर्न थालेका थिए ।
मेयर बने भने…
चुनावको मतगणना कहिले सकिन्छ भन्ने टुंगो छैन । तर, समर्थकहरूले बालेनलाई मेयरको कुर्सीमा देख्न थालिसकेका छन् । यदि साँच्चै मेयर निर्वाचित भए भने उनले आफूलाई प्रुफ गरेर देखाउनुपर्ने गम्भीर चुनौती छ । यो सहज कुरा होइन ।
मेयर निर्वाचित भएको खण्डमा उनको एमालेकी सुनितासँग टिमअप हुने निश्चितप्राय छ । झट्ट हेर्दा यो तन्नेरी जोडी निकै रोमाञ्चक लाग्छ । तर, दुवै युवा भएका कारण मात्रै उनीहरूको ट्युनिङ मिल्छ भन्न सकिन्न । सुनिता एउटा राजनीतिक दलकी प्रतिनिधि हुन् । आफ्नो दलप्रति उनले वफादारी देखाउनेछिन् नै । उनीसहित ३२ वटै वडामा विभिन्न दलबाट निर्वाचित प्रतिनिधिहरूलाई विश्वासमा लिएर काम गर्नु पहिलो चुनौती हुनेछ ।
आखिर किन काठमाडौंका मतदाता यसरी बालेनतिर झुम्मिए ? सहायक कारणहरू धेरै हुन सक्छन्, तर मुख्य कारण दुईवटा छन् । पहिलो, मतदाताले ताजा र क्षमतावान अनुहारको खोजी गर्नु । दोस्रो, प्रमुख दलका उम्मेदवार गतिला नहुनु ।
बालेनप्रति जति अपेक्षा गरिएको छ, त्यो उनले थेग्न सक्नेभन्दा बढी छ । उनी क्षमतावान हुन् तर अद्भूत होइनन् । बालेनको घोषणापत्र हेर्दा गेमचेञ्जर अवधारणा खासै केही छ्रैनन् । यद्यपि, नेपाली जनतालाई खुशी पार्न ठूलो काम देखाउनु पनि पर्दैन । सामान्य सुधारहरू गरिदिए पुग्छ । काठमाडौंवासीलाई धुवाँधुलोबाट मुक्त गराउने, फोहोर मैलाको प्रभावकारी व्यवस्थापन गर्ने, खानेपानी आपूर्ति घरघरमा सुनिश्चित गर्ने, ट्राफिक जाम हटाउने, सडक व्यापारको व्यवस्थापन गर्ने.. यीनै त हुन् मेयरले गर्नुपर्ने ।
मेट्रोरेल र मिनिरेलका भिषण योजनाहरू अघि सारेर ठूला सपना देखाउने भन्दा पनि काठमाडौंबासीको जनजीवनसँग जोडिएका अत्यावश्यक सुधारका कामहरू गरेर काठमाडौंको जनजीवनलाई सहज तुल्याउन सके बालेनको कार्यकाल सफल हुन सक्छ । उनको जित राजनीतिक दलहरूका लागि ठूलो पाठसमेत बन्न सक्छ । दलहरू नै सर्वोपरी होइनन् भन्ने बलियो मान्यता स्थापित हुने छ । अहिलेलाई नतिजाको प्रतीक्षा गरौं ।