रूसी आक्रमणमा परी युक्रेनमा थप ८ जनाको मृत्यु
मस्को । रूसको हवाई आक्रमणमा परी युक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ ।
युक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ ।
डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते पनि भएको समाचारमा जनाइएको छ ।
अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो । राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो । त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो ।
यसअघि युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको थियो ।
युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका थिए । उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीले बताएका छन् । गम्भीर घाइते रहेका ती सैनिकलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।
मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए । ती सैनिकको उद्धारकार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताएका छन् ।
उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रूसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् ।