समाजवादका लागि प्रगतिशील करप्रणाली अनिवार्य : झलनाथ (भिडिओ) – Nepal Press

समाजवादका लागि प्रगतिशील करप्रणाली अनिवार्य : झलनाथ (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रगतिशील कर लगाएर मात्रै समाजवादको लक्ष्य पूरा हुनसक्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै खनालले विद्यमान कर प्रणालीमा सुधार गर्न सरकारसँग माग गरे ।

‘समाजवाद उन्मुख हुने हो भने कर प्रणाली सुधार्नुपर्छ । प्रगतिशील कर प्रणाली लागू गर्नुपर्‍यो । बढी सम्पत्ति हुनेले बढी कर तिर्नुपर्‍यो, कम सम्पत्ति हुनेले कम तिर्नुपर्‍यो । प्रगतिशील कर प्रणाली भएन भने समाजवाद गफमात्रै हुन्छ’, खनालले भने ।’

अर्थतन्त्र सुधारका लागि राज्यको भूमिकालाई बढोत्तरी गर्नुपर्ने भन्दै खनालले विदेशी अनुदान र कमिसनको भरमा मात्रै पर्न नहुने बताए । भूमी सुधार र कृषि क्रान्ति नै नेपाली अर्थतन्त्र सुधारको मुख्य आधार हुने खनालको भनाइ छ ।

‘वैज्ञानिक भूमिसुधार जरुरी छ । भूमिको वैज्ञानिकीकरण नभएका कारण हाम्रो उत्पादनमा समस्या छ । कृषिमा क्रान्ति गर्नको लागि कृषि अनुसन्धान केन्द्रहरू सबैतिर स्थापना गर्नुपर्छ’, खनालले भने ।

उत्तर र दक्षिण दुवैतिरका छिमेकीसँग समान आर्थिक सम्बन्ध स्थापना गर्नुपर्ने भन्दै खनालले उत्तरी नाकाहरु जतिसक्दो धेरै खोल्न उपयुक्त हुने बताए । उनले यसपटकको बजेटमा संसदीय निर्वाचन गराउनुपर्ने विषय पनि मुख्य प्राथमिकतामा रहनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर