पाँच दलको गठबन्धनलाई हराउँदै सन्धिखर्क नगरपालिकामा एमालेका मेयर/उपमेयर विजयी – Nepal Press

पाँच दलको गठबन्धनलाई हराउँदै सन्धिखर्क नगरपालिकामा एमालेका मेयर/उपमेयर विजयी

रूपन्देही । पाँच दलको गठबन्धनलाई हराउँदै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा एमालेका कृष्णप्रसाद श्रेष्ठले गठबन्धनको तर्फबाट कांग्रेसकी शान्ता भण्डारीलाई १ हजार ८ सय १ मतान्तरले पराजित गरे । श्रेष्ठले ११ हजार १ सय ३५ मत ल्याएर सन्धिखर्क नगरपालिका प्रमुखमा निर्वाचित भए । भण्डारीले ९ हजार ३ सय ३४ मत ल्याइन् ।

उपप्रमुखमा एमालेकी मिश्रा आचार्यले गठबन्धनको तर्फबाट माओवादीका राजेन्द्र भुसाललाई ४ सय ७८ मतान्तरले पराजित गरिन् । आचार्यले ९ हजार ६ सय ४६ मत ल्याएर विजयी भइन् । भुसालले ९ हजार १ सय ६८ मत ल्याए ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि श्रेष्ठ नगर प्रमुखमा उम्मेदवार थिए । त्यतिबेला कांग्रेस-माओवादीको चुनावी तालमेलमा कांग्रेसका कमलप्रसाद भुसालसँग ११ सय ३ मतान्तरले श्रेष्ठ पराजित भएका थिए । यसपालि श्रेष्ठ फराकिलो मतान्तरले विजयी भए । निर्वाचित श्रेष्ठको पार्टी एमालेले नगरको १२ वटा वडामध्ये वडा २, ६, ७ र ९ वडा अध्यक्षमा जित हासिल गरेको छ । माओवादीले वडा १० र कांग्रेसले वडा १, ३, ४, ५, ८, ११ र १२ वडा अध्यक्ष जितेको छ ।

यसअघि जिल्लाको मालारानी र पाणिनि गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष जितिसकेको छ ।

यसअघि १ मात्र पालिका जितेको यो जिल्लामा एमाले सचिव टोपबहादुर रायमाझीको रणनीतिक योजनाले गठबन्धनलाई हराउँदै नतिजा निकालेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर