मकवानपुरका ८ स्थानीय तहको परिणाम सार्वजनिक- ६ मा गठबन्धन, २ मा एमाले – Nepal Press

मकवानपुरका ८ स्थानीय तहको परिणाम सार्वजनिक- ६ मा गठबन्धन, २ मा एमाले

हेटौँडा । मकवानपुर जिल्लाको १० स्थानीय तहमध्ये ८ वटा स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । सार्वजनिक भएको नतिजा अनुसार ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले जित हासिल गरेको छ भने दुई स्थानीय तहमा एमाले विजयी भएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी हुँदा उपाध्यक्षमा गठबन्धनकै माओवादी केन्द्रका भक्तबहादुर खत्री निर्वाचित भएका छन् ।

मकवानपुरगढी गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा पनि गठबन्धनकै माओवादी उम्मेदवार मानकुमारी नेपाली पाख्रिनले जित हासिल गरेकी छिन् ।

मकवानपुरकै इन्द्रसरोबरमा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । एमालेका डि.के पुडासैनी अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा पनि एमालेकै उमा लामा विजयी भएकी छिन् ।

मकवानपुरको भीमफेदीमा नेकपा एमालेका हिदम लामा अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् ।

मकवानपुरको कैलाश गाउँपालिकामा पनि गठबन्धनबाट नेपाली कांग्रेसका लोकबहादुर मोक्तान अध्यक्षमा विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका बालकुमार मल्ल विजयी भए ।

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनबाटै नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विष्ट मेयरमा विजयी भएका छन् । उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका भरत गोपाली विजयी भए ।

राक्सिराङ गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी हुँदा उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका बनस्तम थिङ विजयी भए ।

मकवानपुरको मनहरी गाउँपालिकामा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका रञ्जन कालाखेती विजयी हुँदा उपाध्यक्ष गठबन्धनबाट माओवादी केन्द्रकी सिता पुलामी मगर (रेखा) विजयी भएकी छिन् ।

हाल मकवानपुरको बागमती गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा मतगणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर