गृहमन्त्रीको नगरमै मतगणनामा अशान्ति, प्रहरीमाथि ढुंगा प्रहार – Nepal Press

गृहमन्त्रीको नगरमै मतगणनामा अशान्ति, प्रहरीमाथि ढुंगा प्रहार

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना स्थलमा विवाद भएपछि मतगणना कार्य पुनः अनिश्चित बनेको छ। सोमबार रातीदेखि अवरुद्ध मतगणना सहमतिपछि बुधवार रातीबाट सुरु गर्न लागिएको थियो ।

सर्वदलीय सहमति बमोजिम राती ९ बजेबाट मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधिबिच कुटाकुटको विवाद भएपछि मतगणना अनिश्चित भएको हो।

शान्ति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछाने मतगणना स्थलमा दलको प्रतिनिधि बनेर गएपछि विवाद उत्पन्न भएको एमालेले जनाएको छ। उनी कांग्रेसको अधिवेशन प्रतिनिधि हुन् ।

एउटा विद्यालयको प्रधानाध्यापक दलको प्रतिनिधिको रूपमा मतगणना स्थलमा जान आचारसंहिताले समेत नदिने भनेर एमाले प्रतिनिधि मनिष अधिकारीले प्रश्न उठाएपछि विवाद सुरु भएको थियो।

लामिछानेले यस अघि पनि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतगणना स्थलमा समेत विवाद गर्दा कांग्रेसकै सचिव पदका उम्मेदवार कुटिएका थिए।

मतगणना स्थलबाट प्रहरीले १ जनालाई नियन्त्रणमा लिएर गए पनि प्रहरी बाहिर निस्कने क्रममा भिडले ढुंगा प्रहार गरेको थियो।

नेकपा एमालेका प्रतिनिधिहरूले नेपाली सेनाको सुरक्षा बाहेकको अवस्थामा मतगणना गर्न सकिने अवस्था नभएको बताएपछि मतगणना रोकिएको छ।

मतगणना स्थलमा गणक र दलका प्रतिनिधिको सुरक्षा प्रहरीबाट हुनसक्ने अवस्था नभएकोले सेनाको सुरक्षा व्यवस्थामा मात्रै मतगणना गरिनुपर्ने एमाले प्रतिनिधि लक्ष्मण ज्ञवालीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर