तीन दिनदेखि रोकिएको तिलोत्तमाको मतगणना सुरु, गणनास्थलमा सेना राखियो – Nepal Press

तीन दिनदेखि रोकिएको तिलोत्तमाको मतगणना सुरु, गणनास्थलमा सेना राखियो

रुपन्देही । विवादका कारण तीन दिनदेखि रोकिएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली सेनाको उपस्थितिमा मतगणना सुरु भएको छ । सोमबार रातिदेखि रोकिएको मतगणना बुधबार राति ९ बजेदेखि सुरु गर्ने भनिए पनि पुनः विवाद भएपछि रोकिएको थियो ।

यसअघि वडानम्बर २ र १६ को मतगणना गर्ने क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले मतगणना अगाडि बढाउन दिएको थिएन ।

बुधबार निर्वाचन आयोगले दुईवटै वडाको पुनः मतगणना गर्न निर्देशन दिएपछि सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुचारु गर्ने सहमति गरेको थियो । तर शान्ति नमूना माविका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएको भन्दै एमालेका वडा सदस्यका उम्मेदवार मनिष अधिकारिले प्रश्न उठाएपछि झनै विवाद उत्पन्न भएको थियो ।

यसअघि तिलोत्तमा नगरपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मतगणना स्थलमा अराजक समुहले फौजदारी कार्य गर्दा पनि सुरक्षा निकायबाट कुनै सहयोग नभएको बताएका थिए ।

नेकपा एमालेले पनि प्रहरीको सुरक्षा भरपर्दो नभएको भन्दै नेपाली सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोहीअनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना मध्यरातिदेखि सुचारु गरेको हो ।

निर्वाचन अधिकृत लोहनीले सुरक्षा सहजताका लागि सेनाको उपस्थिति भएपछि गणना सुचारु भएको बताए ।

मतगणनाको पछिल्लो विवरणअनुसार नगर प्रमुख पदमा नेपाली कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले तीन हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले तीनहजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर