धादिङमा १२ पालिकाको नतिजा आउँदा कहाँ कसको जित ? (सूचीसहित) – Nepal Press

धादिङमा १२ पालिकाको नतिजा आउँदा कहाँ कसको जित ? (सूचीसहित)

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी धाक्रे गाउँपालिकाको ३ वडामा मतगणना जारी छ ।

प्राप्त परिणामअनुसार जिल्लाको ३५ वटा वडामा नेपाली कांग्रेस, १९ वटा वडामा नेकपा एमाले ३१ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका उम्मेदवारहरूले वडाअध्यक्ष जितेका छन् ।

सदरमुकामस्थित नीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना र उपमेयरमा नेकपा माआवादी केन्द्रका दीपक विश्वकर्मा विजयी भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेको छ । अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवराज धरेल विजयी भएका छन् ।

अध्यक्षमा उप्रेतीले ६७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५१२६ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष देवराज धरेलले ६०३४ मत ल्याएका छन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५२१० मत ल्याएकी थिइन् ।

खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा विजयी रणबहादुरले १ हजार ६०९ मत ल्याएर विजयी भएका हुन । । तामाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसबाट अध्यक्षमा विजयी भएका थिए । तामाङको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङले १ हजार ३९६ मत ल्याएका छन् । अध्यक्षमा पराजित फुलबहादुर कांग्रेसमा थिए । त्यस्तै खनियाबास गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङले १ हजार ८२७ मत ल्याइ विजयी भएका छन भने उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले १ हजार २२७ मत प्राप्त गरेका छन् ।

धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामसिंह तामाङ २ हजार ७९२ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले २ हजार ५९७ मत प्राप्त गरर पराजित भएका थिए । रुवीभ्यालीको उपाध्यक्षमा नेपाली काँग्रेसका फेलामा तामाङ विजयी भएका छन् फेलामाले २ हजार ९०३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनकुमारी तामाङले २ हजार १३२ मत पाएकी थिइन् । २०७४ को निर्वाचनमा रुविभ्यालीमा राप्रपाले अध्यक्ष र उपाध्यक्ष जितेको रुवीभ्याली राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गृहपालिका हो ।

यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा मेघनाथ रिजालले दुई हजार पाँच सय ४२ र निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उर्मिला तामाङ गुरुङले एक हजार छ सय ८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सितामायाँ गुरुङले दुइ हजार सात सय ८६ मत ल्याइ विजयी हुंदा उनकोे निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना कुमारी मम्बाले एक हजार छ सय ३३ मत प्राप्त गरेकी थिइन् ।

धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश लाल श्रेष्ठले ६ हजार ३ सय ०८ मत प्राप्त गरी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतलाई पराजित गरेका छन् । निवर्तमान अध्यक्ष बस्नेतले ४ हजार ५१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शर्मिला विसुराल विजयी भएकी छिन् । विसुराल ५ हजार ६ सय ९९ मत प्राप्त गरेर विजयी भएकी हुन भने नेकपा एमालेकी भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गरेर पराजित भएकी छिन् ।

धुनिवेंशी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा आठ हजार सात सय ६ मत प्राप्त गरी नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामराजा पाण्डेले ६ हजार पाँच सय ९२ मत प्राप्त गरेका थिए । उप मेयरमा नेपाली काँग्रेसका उम्मेदवार सुरज उप्रेती आठ हजार तिन सय ८७ मत ल्याइ विजयी हुंदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार चार सय ७० मत प्राप्त गरेकी छिन् ।

गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । अध्यक्षमा श्रेष्ठले ७ हजार ३ सय ९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गरेर पराजित भए । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका तिवारी ७ हजार ४ सय ९४ मतसहित विजयी भए । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरेकी थिइन् । गल्छीमा अध्यक्ष र उपाध्यक्षमा पराजित श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यसपटक भने दुवै जनाले पराजय भोग्नु परेको छ । गाउँपालिकामा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा थियो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया विजयी भए । थपलियाले ७ हजार ६ सय ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा ५ हजार ९ सय १ मत प्राप्त गरि नेकपा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ विजयी भए श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हिरादेवी रेग्मीले ४ हजार ६ सय ६७ मत प्राप्त गरेकी थिइन ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका यमनाथ दनै र उपाध्यक्षमा गठवन्धनका तर्फबाट एकीकृत समाजवादीका धर्मबहादुर अर्यालय भएका छन । अध्यक्ष दनैले ८ हजार ३४ मत प्राप्त गरि नेकपा एमालेका हरिराम लोहनीलाई पराजित गरेका हुन् । लोहनीले पाँच हजार चार सय ९९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर अर्याल ६ हजार चार सय ४५ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी चन्द्रकुमारी अधिकारीले चार हजार सात सय ७१ मत प्राप्त गरेकी छिन् ।

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका भक्त लामा ६ हजार दुइ सय ६२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन भने उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका रामेश्वर सिंखडा ५ हजार ३८ मत ल्याएर विजयी भएका छन् । अध्यक्ष लामाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष सिंखडाका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी एञ्जीला तामाङले ४ हजार १ सय ९६ मत प्राप्त गर्नुभएको छ । एन्जिला निवर्तमान उपाध्यक्ष समेत हुन् ।

सिद्धलेक गाउँपालिकाको अध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेसका परशुराम खतिवडा ७ हजार ९ सय ५६ मतले विजयी भएभने उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका सविता अर्याल ७ हजार ३ सय ६२ मतले विजयी भए । खतिवडाका निकटतम प्रतिद्धन्द्धी प्रिेमनाथ सिलवालले ६ हजार १ सय ७१ र उपाध्यक्षकी अर्यालकी निकटतम प्रतिद्धन्द्धी कमला शर्माले ६ हजार २ सय १२ मत प्राप्त गर्नुभयो । अध्यक्ष र उपाध्यक्षमा पराजित सिलवाल र शर्मा २०७४ सालमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।

थांक्रे गाउँपालिकामा मतगणना जारी रहेको छ । ११ वडा मध्ये ८ वडाको मतगणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्यले अग्रता लिएका छन् । गठवन्धनका तर्फबाट काँग्रेसका रामप्रसाद बिँडारीले ६४२० मत पाएका छन भने एमालेका ७३७१ मत पाएका छन् । उपाध्यक्षमा भने गठवन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रवहादुर थापाले ७४६५ मत ल्याउँदा एमालेका अम्बिका रुपाखेतीको ६५५३ मत आएको छ । थाँक्रेमा तीन वटा वडाको मत गणना बाँकी नै छ ।

नीलकण्ठ नगरपालिकाको सबै वडाको मतगणना सकिएपनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गरेको छैन । ६ नम्बर वडामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार पक्ष बिच चुनाव प्रचारका क्रममा झडप हुँदा कांग्रेसका उम्मेदवार टाउकोमा चोट लागेर काठमण्डौंमा उपचाररत छन भने माओवादी केन्द्रका उम्मेदवार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर