वडाअध्यक्षका उम्मेदवार अस्पताल र हिरासतमा, बराबर भोट आएपछि गोला तानेर फैसला – Nepal Press

वडाअध्यक्षका उम्मेदवार अस्पताल र हिरासतमा, बराबर भोट आएपछि गोला तानेर फैसला

धादिङ । नीलकण्ठ-६ मा कांग्रेस र माओवादीका उम्मेदवारले बराबरी मत पाएपछि गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

बुधबार साँझ गोलाप्रथाबाट टुंगो लगाउन भनेर हिरासतबाट गोला थुत्न निर्वाचन अधिकृतको कार्यालय लगिएका माओवादीको उम्मेदवार बेहोस भएपछि गोलाप्रथा थुत्ने कार्य रोकिएको थियो । लक्ष्मण रम्तेलको उपचारपछि बिहीबार बिहान गोलाप्रथाबाट विजयी घोषणा गरिएको हो ।

नीलकण्ठ नगरपालिकाको सवै वडाको मतपरिणाम आइसकेको छ । वडाध्यक्षमा प्रत्यासीहरूको बराबर मत आएपछि विजेता घोषणा हुन सकेको ६ नम्वर वडाको गोला प्रथा गर्ने बेलामा उम्मेदवार नै बेहोस भएपछि प्रक्रिया रोकिन पुगेको थियो ।

गोला झिक्नको लागि प्रहरी हिरासतबाट निर्वाचन अधिकृतको कार्यालय लगिएका नेकपा माओवादी केन्द्रका उम्मेद्वार रम्तेल बेहोस भएर ढलेपछि उपचारको लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । रम्तेलको स्वास्थ्यमा सुधार आएपछि बिहीबार गोलाप्रथाबाट विजयीको टुंगो लगाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार ६ नम्वर वडाको मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र श्रेष्ठ र नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेल दुवैजनाको बराबर ७ सय ५८ मत आएको थियो । वडा अध्यक्षमा बराबर भएपनि ४ वटा वडा सदस्यहरूमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन् ।

गत वैशाख २८ गते राती नेपाली कांग्रेसका उम्मेदवारहरूलाई आक्रमण गरेर गम्भीर घाइते बनाएको अभियोगमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलसहित अन्य ४ जना माओवादी कार्यकर्ता जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

गम्भीर घाइते रहेका भुपेन्द्रलाई भने एम्वुलेन्समा राखेर मतदान गर्न ल्याइएको थियो । लक्ष्मणलाई भने भोट हालेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर