मोरङमा कांग्रेसको गढ भत्काउँदै एमाले, गणना जारी ठाउँमा एमाले नै अगाडि – Nepal Press

मोरङमा कांग्रेसको गढ भत्काउँदै एमाले, गणना जारी ठाउँमा एमाले नै अगाडि

विराटनगर । स्थानीय तहको निर्वाचन प्रतिस्पर्धामा मोरङका स्थानीय तहमा नेपाली कांग्रेस कमजोर देखिएको छ । धेरैजसो ठाउँमा गठबन्धन भएपनि उसले गत चुनावमा जितेका पालिका पनि गुमाएको छ ।

मोरङका ८ स्थानीय तहको नतिजा आइसकेको छ । त्यसमध्ये बराबरी चार-चार वटामा एमाले कांग्रेसले जित निकालेका छन् । गणना जारी रहेका अरु ५ पालिकामा एमाले अगाडि छ । ४ वटा पालिकामा कांग्रेसको अग्रता छ ।

१७ स्थानीय तहमध्ये ७४ को चुनावमा नेपाली कांग्रेसले सबैभन्दा बढी १० स्थानीय तह जितेको थियो । एमालेले ५, माओवादी र जनता समाजवादी पार्टीले १-१ स्थानीय तहमा जित निकालेको थियो । अहिलेसम्मको मतपरिणाम हेर्दा कांग्रेसको गढ भत्काउँदै गएकाले एमाले अझ बलियो अवस्थामा देखिने सम्भावना बढेको हो ।

एमालेले यसअघि कांग्रेसले जितेको केराबारी, लेटाङ, सुनवर्षी नगरपालिका जितेको छ । यसअघि जितेको कानेपोखरी एमालेले यसपटक पनि सेटै जितेको छ ।

एमालेले यसअघि जितेको मिक्लाजुग गाउँपालिकामा भने अहिले काग्रेस-माओवादी गठबन्धनले हात पार्‍यो । नेपाली कांग्रेसले मिक्लाजुग, बुढीगंगा, कटहरी र जहदा जित हासिल गरेको छ ।

अघिल्लोपटक कांग्रेसले जितेको कटहरी गाउँपालिकामा उपाध्यक्ष एमालेले जितेको छ ।

सुनवर्षी कुनैबेला गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रमा पर्थ्यो । सो पालिकामा कांग्रेसको वर्चश्व रहेको थियो । गठबन्धनको विरोधमा रहेका कांग्रेस नेता डा. मिनेन्द्र रिजालको निर्वाचन क्षेत्रमा पर्ने सो पालिकामा एमाले उम्मदेवारले जितेका छन् ।

सुनवर्षीमा एमालेका श्यामप्रसाद राजवंशी विजयी भए ।

२०७४ मा मेयरमा कांग्रेसका कालीप्रसाद दास विजयी भएका थिए । यसपटक उपमेयरमा पनि एमालेकै मिरादेवी दास केवरतले जितेकी छन् । साविकका अमरदह गाविस, डाइनिया गाविस र गोविन्दपुर मिलाएर सुनवर्षी बनाइएको थियो ।

कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूकै गृहनगर लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । लेटाङमा एमालेका भूपेन्द्रकुमार लावतीले नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् ।

२०७४ को निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । नगरपालिकाको उपमेरमा दोस्रो कार्यकालका लागि कृष्णकुमारी निरौला निर्वाचित भएकी छन् ।

कांग्रेसकै पकड रहेको केराबारी गाउँपालिका अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा एमालेकी मनमाया मगर निर्वाचित भएका छन् ।

केराबारीमा डा. शेखर कोइरालानिकट रहेका निवर्तमान गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की गठबन्धन आवश्यक नरहेको भन्दै एक्लै चुनाब जित्ने दाबी गर्दै आएका थिए । तर, सो पालिकमा एमालेले जित निकालेको छ ।

कांग्रेस सभापति लिम्बूकै निर्वाचन क्षेत्रमा पनि उर्लाबारी नगरपालिकामा पनि एमाले जित नजिक छ । त्यसहाँ एमाले उम्मेदवार गंगा खरेलले कांग्रेसका निवर्तमान मेयर खड्ग फागोलाई पछि पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर