अरुण चाैथाे भारतलाई दिइएकोमा भीम रावलको आपत्ति, कुलमानले राष्ट्रिय हितविपरीत सम्झौता गरेको आरोप (भिडिओ) – Nepal Press

अरुण चाैथाे भारतलाई दिइएकोमा भीम रावलको आपत्ति, कुलमानले राष्ट्रिय हितविपरीत सम्झौता गरेको आरोप (भिडिओ)

विदेशी अतिथिको छेउमा बसेर उँघ्ने प्रधानमन्त्रीबाट के आशा गर्ने ?

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अरुण चाैथाे जलविद्युत आयोजना भारतसँग सम्झौता गरिएकोमा आपत्ति जनाएका छन् । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै प्रक्रियाविना भारतसँग सम्झौता गरेको उनको आरोप छ ।

आज संसद बैठकमा बोल्दै रावलले अरुण तेस्राे निर्माण गर्न प्राधिकरणलाई अधिकार दिइएकोमा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र औपचारिक निर्णयविना भारतलाई सेयर बिक्री गर्न लागिएको बताए । उनले भने, ‘भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणका बेला प्रधानमन्त्री देउवाको निर्देशनमा कुलमान घिसिङले राष्ट्रिय हितविपरीतको सम्झौता गर्नुभएको छ ।’

भारतबाट ३२ रुपैयाँ प्रतियुनिटमा बिजुली किनिरहेको प्राधिकरणले नेपालमा बिजुली बढी भएको हल्ला फैलाएर स्वदेशी नदीनाला विदेशीको हातमा सुम्पिन खोजेको रावलले आरोप लगाए । ‘यो सरकारले जलस्रोतका सन्दर्भमा राष्ट्रिय हितमा काम गर्ने आशा छैन । कोसी, गण्डकीकै नियति भोग्नुपर्ने भएको छ,’ उनले भने ।

प्रधानमन्त्री देउवाले डडेलधुरामा चुनावी सभामा बोल्दै चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने र नेपालले बनाउन नसक्ने भएकाले पश्चिम सेती भारतलाई दिनुपर्ने कुतर्क गरेको रावलले बताए । ‘के नेपालले अब स्वतन्त्र राष्ट्रका रुपमा आफ्नो निर्णय लिन नसक्ने भयो ?’, उनले प्रश्न गरे ।

यो सरकारसँग देश जोगाउन कुनै चिन्तन र दृष्टिकोण नरहेको रावलले बताए । उनले थपे, ‘भारतीय प्रधानमन्त्रीको छेउमा बसेर निदाउने र छटपट गर्ने प्रधानमन्त्री भएको सरकारले कालापानी, सुस्ता जस्ता अतिक्रमित भूभागहरु कसरी फिर्ता ल्याउँछ ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर