कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी, ‘पानी बा’ बने नगरपिता – Nepal Press

कावासोती नगरपालिकामा गठबन्धन हराउँदै एमाले विजयी, ‘पानी बा’ बने नगरपिता

खानेपानीको अध्यक्षमा जोसँग हारे मेयरमा पनि उसैसँग पराजित भए कांग्रेसका पोखरेल

नवलपुर । कावासोती नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार विष्णु भुसाल नगर प्रमुखमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र पोखरेललाई ३ सय ४ मतान्तरले हराउँदै विजयी भुसाल विजयी भएका हुन् ।

भुसालले १८ हजार ६ सय आठ मत र पोखरेलले १८ हजार ३ सय ४ चार मत पाएका छन् ।

२०७४ सालमा पनि एमालेबाट चन्दकुमारी पुनसँग पोखरेल पराजित भएका थिए । १७ वडा रहेको कावासोतीमा ८ वटा वडा जितेको थियो । यसपटक एमालेले १२ वटा वडासहित मेयर, उपमेयर जितेको छ । चन्द्रकुमारी पुनले थालेको विकास अभियानले एमालेलाई अहिले जित निकाल्न सहज भएको हो ।

उपमेयरमा एमालेकै फूलकुमारी थनेतले माओवादीका पतिराम थारुलाई ५ हजार चार सय ६३ मतान्तरले पराजित गरेकी छन् । थनेतले १९ हजार २४ मत ल्याएकी छन् ।

नगर चक्रपथ, फोहोर मैलाको व्यवस्थापन, प्रशासनिक भवन निर्माण, वडा कार्यालयहरूको निर्माण, आमा स्वास्थ्य कार्यक्रम, विपन्न आवास कार्यक्रम, बोटे, माझी, मुसहरको घर निर्माणमा सामुदायिक विद्यालयको शिक्षामा उल्लेखनीय सुधार, मानव र बन्यजन्तुको द्धन्द्ध ब्यवस्थापन, खानेपानी, केरुङ्गेखोला व्यवस्थापनको योजना निर्माण जस्ताकामले मतदाताले एमाले राजेको विश्लेषण भइरहेको छ ।

२०५७ साल अघि काकाकुल रहेको कावासोतीमा खानेपानीको ब्यवस्थापन गरेका बिष्णु भुसाल दुई बर्ष अगाडिसम्म कावासोतीको खानेपानीको नेतृत्व गरिरहेका थिए । कावासोतीमा पानी खुवाएकाले सबैले उनलाई ‘पानी बा’ भनेर सम्बोधन गर्ने गरेका छन् । खानेपानी अध्यक्षमा पनि भुसाल र पोखरेलको प्रतिस्पर्धा हुँदा भुसाल नै विजयी भएका थिए ।

अहिले कांग्रेस , माओवादी केन्द्र, समाजवादीको गठबन्धनलाई हराउदै एमालेले मेयर, उपमेयर सहित वडा नं. १, ३, ४, ५, ६, ७, ८, १०, १२, १३, १४ र १७ जितेको छ । कांग्रेसले गत निर्वाचनमा ८ वटा वडा जितेकोमा यस पटक आधा घटेको छ जसमाा २, ९, ११, १५ मा जितेको छ भने १६ मा माओवादीले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर