गठबन्धनमा अपमान भएपछि पालिका अध्यक्षमा सिंगल भिड्दा नेकपा एसका केन्द्रीय नेतालाई १६० भोट – Nepal Press

गठबन्धनमा अपमान भएपछि पालिका अध्यक्षमा सिंगल भिड्दा नेकपा एसका केन्द्रीय नेतालाई १६० भोट

ओखलढुंगा । गठबन्धनमा कांग्रेस र माओवादीले अपमान गरेको गुनासो गर्दै आएको नेकपा एकीकृत समाजवादीका एकजना केन्द्रीय सदस्य गठबन्धनबिना एक्लै गाउँपालिका अध्यक्षको चुनाव लड्न जाँदा जम्मा १६० मत पाएका छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षमा सबै दल एक्ला एक्लै लड्दा नेकपा एसबाट केन्द्रीय सदस्य तथा जिल्लाका स्थापित नेता नेत्र भट्टराई अध्यक्षको उम्मेदवार थिए । ९ वटा वडा रहेको लिखु गाउँपालिकामा हेबिवेट नेता भट्टराईले पाएको मत भने दयनीय रह्यो ।

उनले एउटा वडामा एक मत पनि पाउँन सकेनन् भने अरुमा कम्तीमा एकदेखि बढीमा ७४ सम्म मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पालिका अध्यक्षक्षमा कांग्रेसका अशोक कार्की ३७७६ मतसहित विजयी हुँदा एमालेका मिलन विष्टले ३४९२, माओवादी केन्द्रका एकिन्द्रराज कटुवालले ९३३, नेशनल मंगोल अर्गनाइजेशनका दावा शेर्पाले ३७, राप्रपाका बुद्धवीर पौडेलले १० र स्वतन्त्र उम्मेदवार राजनकुमार सुवेदीले १० मत पाएका छन् ।

उपाध्यक्ष एमालेकी अस्मिता थापा ४११६ मतका साथ विजयी हुँदा कांग्रेसकी प्रेमकुमारी दाहालले ३०८३,माओवादीकी बिमला भट्टराईले ८४४ र नेकपा एसकी पूर्णकुमारी बुढाथोकीले १२५ मत पाइन् । उपाध्यक्षको भन्दा ४६ मत नेत्र भट्टराईले पाएका छन् ।

गठबन्धनमा हेपिएपछि

गठबन्धनमा छलफल चल्दा लिखु गाउँपालिका नेकपा एसले आफूले पाउनुपर्ने अडान नछाडेका कारण जिल्लामा गठबन्धन हुन सकेन । जिल्लामा अन्य कारणले गर्दा गठबन्धन नभएको भनिए पनि नेकपा एसका केन्द्रीय सदस्य नेत्र प्रसाद भट्टराईको गृहपालिका समेत भएका कारण पार्टीले गाउँपालिका अध्यक्षको दाबी गरिरहेको थियो ।

सत्ता साझेदार अन्यदलहरुले यो कुराको वेवास्ता गर्दै जिल्लामा गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धामा उत्रने सहमती गरे र सबै दलले सबै स्थानीय तहमा आ-आफ्ना उम्मेदवार उठाए । नेकपा एसले सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकामा दाबी गरिरहेको थियो । पछि नेकपा एसलाई बाहिर राखेर कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए अन्य पालिकामा ।

नेत्र भट्टराई लिखु क्षेत्रका मात्र नभएर जिल्लाकै पूराना र इमानदार कम्युनिष्ट हुन् । उनी नेकपा एमालेको जिल्ला कमिटी उपाध्यक्ष थिए । २०५४ मा उनी एमालेबाट जिल्ला विकास समितिको सदस्य पनि भए । पार्टी विभाजनपछि उनी नेकपा एसतिर लागेका थिए । यदि एमालेमा थिए भने उनी अध्यक्षका सर्वसम्मत उम्मेदवार हुन्थे र अध्यक्ष जित्ने पनि निश्चित थियो ।

तर, नेकपा एसबाट उठ्दा पार्टीको केन्द्रीय सदस्य तहको नेताको मत कमजोर देखिएको छ । भट्टराईलाई गाउँपालिकामा रहेका ९ वटा वडाबाट जम्मा १६० मत आएको छ । उनलाई सबैभन्दा बढी वडा नं. ९ बाट ९४ मत आएको छ भने वडा नं. १ मा उनलाई एक मत पनि आएको छैन ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले आफ्नै वडामा चौथो मत अर्थात ५६ ल्याएका छन् भने संगठन बलियो भनिएको वडा नं. ८ मा समेत उनलाई ६ मत मात्र प्राप्त भएको छ । उनले वडा नं. २ मा एक, ३ मा पाँच, ४ मा १३ मत, ५ मा ३ मत र वडा नं. ७ मा ९ मत प्रप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर