गठबन्धनका हेभीवेट नेताको वडामा एक्लै अध्यक्ष जितेकी सुमित्रा, युवालाई दुर्व्यसनबाट मुक्त गर्ने योजना – Nepal Press

गठबन्धनका हेभीवेट नेताको वडामा एक्लै अध्यक्ष जितेकी सुमित्रा, युवालाई दुर्व्यसनबाट मुक्त गर्ने योजना

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ९ बाट एमालेकी सुमित्रा त्रिपाठी पाण्डे ९४८ मतका साथ निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गणेश कोइरालाले ८७३ मत ल्याए । अब सुमित्राले पाँच वर्ष आफ्नो क्षेत्रमा जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्नेछिन् ।

यसपटकको चुनाव जित्न भने त्यति सहज थिएन सुमित्रालाई । उनका प्रतिद्वन्द्वी कोइराला कांग्रेसका वर्तमान नगर सभापति हुन् । कोइरालाले अघिल्लो स्थानीय तह निर्वाचनमै मेयरको दाबी गरेका थिए । तर, पार्टीले टिकट नदिएपछि केही निष्क्रिय भएका कोइराला यसपटक वडाध्यक्षमा लडेका थिए । कांग्रेस कार्यकर्ता कोइरालाले जित्नेमा ढुक्क थिए । त्यहीअनुसार चुनावी प्रचारप्रसार गरिरहेका थिए ।

सुमित्रालाई चुनौती कोइरालामात्रै थिएनन् । एमालेबाट फुटेको नेकपा एसका जिल्ला अध्यक्ष कुसुम कार्कीको वडा पनि यही हो । कांग्रेस, एस, माओवादीलगायतसँग भिड्नु परेकाले पनि सुमित्रामाथि चुनौती थपिएको थियो । सँगै अर्को चुनौती थियो, आफ्नै टोलका आफन्त पर्ने व्यक्ति राप्रपाबाट वडाध्यक्षमा चुनावी मैदानमा आइपुग्नु ।

यी र यस्ता परिवेशले सुमित्राको जनप्रतिनिधि भएर पाँच वर्ष जनताको सेवा गर्ने चाहनालाई धक्का दिइरहेको थियो । तर, सुमित्रा निरन्तर लडिरहिन् । जनताको घरदैलोमा नबिराइकन पुगिरहिन् । चारैतिरबाट हमला हुँदा पनि आफू खटिरहिन् । चुनावी प्रचारप्रसारका क्रममा कांग्रेसका ठूला नेताको गाडीहरु रातिराति आइपुग्थे । तिनले जनतालाई बहकाउँछन् भन्ने डर थियो सुमित्रालाई । तर, उनको मनमा भने जनताको विवेकले आफूलाई नै चुन्ने विश्वास थियो ।

जनताले सुमित्रालाई किन चुन्ने ? आफैलाई प्रश्न गर्थिन् र उत्तर पनि आफै पाउँथिन् । यसभन्दा अघिल्लो कार्यकालमा वडा सदस्यमा वडाध्यक्षले भन्दा बढी मत ल्याएर निर्वाचित भएकी थिइन् । तर, वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटा दुई वर्षपछि डीभी परेर अमेरिका हान्निए । यसपछि वडाध्यक्षले गर्नुपर्ने काम कारबाही सुमित्राको काँधमा आइलाग्यो । एकातिर कोभिड १९ को बढ्दो त्रास र त्यसले निम्त्याएको संकट थियो भने अर्कातिर जनताको सेवामा खटिनुपर्ने चुनौती ।

सुमित्रा भन्छिन्, ‘तीन वर्ष जति मैले वडाध्यक्षको भूमिका निभाएँ अघिल्लो कार्यकालमा । महिला भए पनि कोभिड १९ को समयमा रातिराति जनताको सेवामा खटिएँ । अनि स्थानीय तहको निर्वाचन पनि नजिकियो । पार्टीले मलाई नै वडाध्यक्ष बनाउने भयो । मेरो वडामा पार्टीबाट अरु दाबेदारहरु पनि आउनुभएन । त्यसैले मैले पपुलर मतले चुनाव जितेँ । चारैतिरबाट पेल्दा पनि जनताले मेरो काम देखेकाले मलाई चुने ।’

पार्टीले टिकट दिएपछि चुनावी प्रसारमा सुमित्रा लागेकी त थिइन् तर, गठबन्धन एग्रेसिभली लागेको थियो प्रचारमा । उनीहरुको होहल्ला, उत्साह देख्दा बीचमा थोरै नर्भस पनि भएकी थिइन् । तर अन्ततः चुनाव जितिन् ।

वडाध्यक्षमा निर्वाचित भए पनि काम गर्न त्यति सहज भने सुमित्रालाई छैन । वडा सदस्यहरु चारैजना कांग्रेसबाट निर्वाचित भएका छन् । तर, उनीहरुसँग मिलेर सहकार्य गर्दै काम गर्ने सुरमा छिन् उनी । विद्यार्थीकालदेखि नै एमालेको राजनीतिमा सक्रिय भएकी सुमित्रा अहिले नगर कमिटीको सचिवालय सदस्य छिन् ।

आफ्ना वडामा निर्वाचित भएका वडा सदस्यहरुसँग मिलेर जनताको सेवा गर्ने बताउँदै भन्छिन्, ‘चुनौतीहरु प्रशस्त छन् । वडा सदस्य साथीहरुसित पनि सहकार्य गरेर अगाडि बढ्नु छ । अघिल्लो कार्यकालमा पूर्वाधारको क्षेत्रमा फड्को मारेका छौं । अब भने प्रविधिको पनि सही प्रयोग गरेर जनतालाई छिटो सेवा दिने योजनामा छु । सुकुम्बासी बस्ती ठूलो छ, त्यहाँ दुव्र्यसनीमा धेरै फसेका छन् । उहाँहरुलाई दुव्र्यसनीबाट मुक्त गर्न पहल गर्नुछ ।’

जीवनभर समाजसेवा र राजनीतिमा सक्रिय सुमित्रालाई विश्वास छ, अबको पाँच वर्षपछि योभन्दा बढी जनताको माया पाउनेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर