महिला पत्रकारविरुद्ध उत्रियो तालिबान, समाचार वाचन गर्दा मुहार ढाक्नुपर्ने आदेश
काठमाडौं । सैन्य विद्रोह गरेर हाल अफगानिस्तानमा शासन गरिरहेको तालिबानी समूहले अफगानी महिलाहरुमाथि लगाउँदै आएको प्रतिबन्धलाई थप कडाइ गरेको छ । तालिबानले हालैमात्र महिला पत्रकारहरुले समाचार वाचन गर्दा मुहार ढाक्नुपर्ने प्रतिबन्धनात्मक व्यवस्था लागू गरेको छ ।
अन्तर्राष्टिय सञ्चारमाध्यम टेलो न्युजका अनुसार तालिबानले उक्त व्यवस्था देशका सम्पूर्ण मिडियाहरुमा लागू गर्ने बताएको छ । तालिबानको उक्त निर्णयपश्चात अफगानिस्तानका पत्रकारहरुले महिलाहरुलाई सञ्चारमाध्यमबाट हटाउन तालिबानले षड्यन्त्र गरिरहेको भन्दै विरोध जनाइरहेका छन् ।
तालिबानले यसअघि नै अफगानिस्तानमा महिलाहरुलाई शिक्षा आर्जन गर्नबाट बन्चित गराउँदै आएको छ । जुन निर्णयको अन्तर्राष्ट्रिय समुदायमै चर्को विरोध हुँदै आएको छ ।