बलात्कार आरोपको अनुसन्धान गर्न संसद्को निर्देशन, प्रहरी भन्छ- हदम्याद नाघिसक्यो – Nepal Press

बलात्कार आरोपको अनुसन्धान गर्न संसद्को निर्देशन, प्रहरी भन्छ- हदम्याद नाघिसक्यो

काठमाडौं । कुनै पनि घटना भएको मितिले अदालतमा मुद्दा दर्ता भइसक्नु पर्ने समयावधिलाई हदम्याद भनिन्छ । यति बेला यही हदम्यादको विषय चर्चामा रहेको छ ।

८ वर्षअघि एक सुन्दरी प्रतियोगिता आयोजकले आफूलाई बलात्कार गरेको भन्दै हालसालै ‘पीडित’ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि राष्ट्रिय चर्चाको विषय बनेको छ ।

शुक्रवार बिहान बालुवाटारमा महिला अधिकारकर्मीसहितले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए ।

दिउँसो प्रतिनिधिसभा बैठकमा गगन थापालगायत सांसदले चासो राखेपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त घटनामा अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएका थिए ।

यति बेला प्रहरीले आरोपीको खोजी गरिरहेको छ भने पीडित भनिएकी युवती र उनका परिवारलाई सम्पर्कमा ल्याएर बुझ्ने काम गरिरहेको छ। बलात्कारको आरोपमा मुद्दा दर्ता घटना भएको मितिले एक वर्षसम्म मात्र हुने व्यवस्था रहेकाले यस घटनाको अनुसन्धानलाई कसरी अगाडि बढाउने भन्नेमा प्रहरी अन्योल छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसी कसैले आरोप मात्र लगाइरहेको अवस्था भएकाले पीडितसँग प्रत्यक्ष रूपमा बुझेपछि मात्र थाहा हुने बताउँछन् ।

‘अहिलेसम्म ती युवतीले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेर दाबी गरिरहेकी छिन्। उनको दाबी सही हो वा गलत हो, यसमा अन्य विषय पो जोडिएको छ की भनेर नबुझी हद म्यादको विषयमा प्रवेश गर्नु हतार हुन्छ। पहिला घटना के हो भन्ने कुरा त प्रहरीले बुझ्नु पर्‍यो नि’, एसएसपी केसी भन्छन् ।

अनुसन्धानमा खटिएका अधिकारीहरू भने बलात्कारमा मुद्दा चलाउन हद म्यादले नदिने बताउँछन्।

‘हामी यसरी किन दौडिरहेका छौँ भन्ने थाहा छैन। बलात्कारमा मुद्दा चलाउन हद म्याद नाघिसकेको छ। अरू कुनै कसुर आकर्षित हुन्छ भने बेग्लै कुरा’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् ।

बलात्कार मुद्दामा हद म्याद ३५ दिन, ९० दिन हुँदै पछिल्लो व्यवस्थामा एक वर्ष पुर्‍याइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर