सिरहामा बिहेको तीन दिनअघि बाबु-छोराको हत्या – Nepal Press

सिरहामा बिहेको तीन दिनअघि बाबु-छोराको हत्या

जनकपुरधाम । सिरहाको अर्नमा गाउँपालिका-१ महनौरस्थित एक घरमा बाबु-छोराको हत्या गरिएको छ ।

अज्ञात समूहले धारिलो हतियारले चुलाही भन्ने ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमारको हत्या गरेको हो । स्थानीयका अनुसार जेठ ११ गतेका लागि छोरा सन्तको बिहे छिनोफानो भएको थियो ।

विवाहको खुसियालीमा मिथिलाको परम्परा घरमा महिलाहरूले गीत गाउँने गरेका थिए ।

सन्तकुमारको घरमै टोलकी महिलाहरु भेला भइ विवाहको गीत राति १२ बजेसम्म गाएका थिए । गीत गाएर सबै घर फर्किएको केही घण्टामै उनीहरूको हत्या भएको गाउँभर खबर फैलियो ।

सन्त कुमारसँग ११/१२ वर्षका एक बालक समेत सुतेका थिए । उनी सुतेकै घरमा टाँसिएको अर्को कोठामा बुबा सुतेका थिए । घटनापश्चात बालक चिच्याएपछि गाउँलेले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

हत्या भएका सन्तकुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए । बाबु-छोराको हत्यापछि महनौर टोल त्राससँगै शोकमा डुबेको छ ।

रातिदेखि नै प्रहरी अनुसन्धानमा लागेका छन् । तर, अहिलेसम्म हत्या कसले र किन गरेको कुरा खुलेको छैन । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास ढकालले तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान थालिएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं । तत्काल केही बताउँन सकिन्न ।’ अहिले महनौरमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर