बुटवलका मेयरको पहिलो निर्णय– भूमिहीनलाई लालपुर्जा – Nepal Press

बुटवलका मेयरको पहिलो निर्णय– भूमिहीनलाई लालपुर्जा

रुपन्देही । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने पहिलो निर्णय गरेका छन् ।

सोमबार पदस्थापन गरेका उनीहरुले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने र बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

बुटवलमा लामो समयदेखि भूमिहीनलाई लालपुर्जा दिने दलहरुको चुनावी प्रतिबद्धता चलिरहेको छ । नवनिर्वाचित मेयर खेलराज पाण्डे र उपमेयर सावित्रादेवी अर्यालले एकैसाथ पदभार ग्रहण गर्दै अलग–अलग निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मेयर पाण्डेले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जतिसक्दो छिटो लालपुर्जा उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्दा उपमेयर अर्यालले उपभोग्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न नियमित बजार अनुगमन गर्ने र त्यसलाई प्रभावकारी बनाइने निर्णयमा हस्ताक्षर गरेकी छन् ।

बुटवलको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका पाण्डेले एमालेका बाबुराम भट्टराई पराजित गरेका थिए । पाण्डेले ३० हजार १३० मत पाउँदा भट्टराईले २२ हजार ५९७ मत ल्याए । त्यस्तै उपमेयरमा एमालेकी सावित्रादेवी अर्यालले गठबन्धनबाट एकीकृत समाजवादीका चीनबहादुर गुरुङलाई पराजित गरेकी थिइन् । अर्यालले २४ हजार ९०४ मत ल्याउँदा गुरुङले १६ हजार ९८० मत पाएका थिए ।

सोमबार मेयर र उपमेयरसँगै वडा अध्यक्ष तथा सदस्यहरुले सपथग्रहण र पदभार सम्हालेका छन् । यसअघि मेयर पाण्डेलाई जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले भैरहवामा सपथग्रहण गराएको थियो । उपमेयर र अन्य जनप्रतिनिधिहरुलाई भने मेयर पाण्डेले सपथ ग्रहण गराएका थिए ।

पदभार ग्रहणपछि मेयर पाण्डेले अन्य राजनैतिक दलहरुको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी बुटवलको विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । पाण्डेले निर्वाचनको समयमा मतदाताको घरदैलोमा जाँदा गरेका बाचा र योजनाहरु आफ्ना प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै बुटवलको प्रमुख समस्याको रुपमा रहेको भूमिहीन सुकुम्बासीहरुको समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाईसहित शुभकामना दिँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, एमालेका पोलिटव्युरो सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य लीला गिरी, निवर्तमान मेयर शिवराज सुवेदीलगायतले प्राप्त अभिमतलाई उचित कदर गरी जनताको आशाबमोजिम काम गर्न आग्रह गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर