यी हुन् फोर्ब्सको प्रभावशाली युवा सूचीमा पर्ने पाँच नेपाली
काठमाडौं । अमेरिकी म्यागेजिन फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्दै आएको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा यस वर्ष नेपालका पाँच जना युवा पर्न सफल भएका छन् ।
फोर्ब्सले बुधबार उक्त सूची सार्वजनिक गरेको थियो भने सो सूचीमा नेपालका ऐश्वर्या रानी सिंह, सुमित दाहाल, सुजित पाठक, सन्तोष पाण्डे र निरज काफ्ले रहेका छन् ।
फोर्ब्सले उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० युवालाई ‘३० अन्डर ३० एसिया’ नामक सूचीमा राख्ने गर्छ । फोर्ब्सका अनुसार यस वर्षको सूचीमा चार हजार बढी उम्मेदवारहरूले आवेदन दिएका थिए । जसमध्ये ३०० जनालाई छनोट गरिएको छ । सोही तीनसय जनाको सूचीमा पाँच जना नेपाली युवा पर्न सफल भएका हुन् ।
फोर्ब्सको सूचीमा पर्न सफल नेपाली युवाहरु को को हुन् ?
ऐश्वर्या रानी सिंहः ऐश्वर्या महिनावारी स्वच्छता शिक्षा र प्रशिक्षणमा केन्द्रित गैरनाफामूलक संस्था पुतली नेपालका संस्थापक अधक्ष्य हुन् । यस संस्थाले मेन्स्ट्रुअल कप र मेन्स्ट्रुपेडिक कमिकहरूको बिक्री वितरण पनि गर्दै आएको छ । फोर्ब्सले उनलाई सोसल इम्प्याक्ट अर्थात सामाजिक प्रभाव विधामा सूचीकृत गरेको हो ।
सुमित दाहालः ‘हेल्थ एन्ड साइन्स’ अर्थात् स्वास्थ्य र विज्ञान विधामा सूचीकृत सुमित गोडार्ड स्पेस फ्लाइट सेन्टरमा एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरलको रुपमा कार्यरत छन् । ब्रह्माण्डको उत्पत्ति र विकासको अध्ययनका लागि टेलिस्कोपको निर्माण गर्नु र टेलिस्कोपका लागि अति संवेदनशील सुपरकन्डक्टिङ सेन्सरहरू विकास गर्नु उनको मुख्य काम हो । उनले चिलीको अटाकामा मरूभूमिमा ब्रह्माण्डको प्रारम्भिक क्षणका माइक्रोवेबका अवशेषहरू अध्ययनका लागि तीनवटा माइक्रोवेब टेलिस्कोप तयार परेका छन् ।
सुजित पाठकः ‘कन्जुमर टेक्नोलोजी’ विधामा सूचीकृत सुजित इनग्रेल नेपाल नामक संस्थाका सह-संस्थापक हुन् । उनको संस्थाले हाल नेपालका ८ सय बढी विद्यालयमा वित्त, सञ्चार र डेटा व्यवस्थापन गर्न मद्दत पुर्याउने डिजिटल सफ्टवेयरमार्फत सेवा दिइरहेको छ ।
निरज काफ्ले र सन्तोष पाण्डेः निरज र सन्तोष ‘रिटेल एन्ड इ-कमर्स’ विधामा सूचीकृत भएका हुन् । उनीहरु अफरिङ ह्यापिनेस नामक संस्थाका सह-संस्थापकहरू हुन् । यस संस्थाले उपहार र सरप्राइज प्याकेज डेलिभरी गर्ने कार्य गर्दै आएको छ ।