भक्तपुरमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेमकिपा निर्णायक – Nepal Press

भक्तपुरमा जिल्ला समन्वय समितिको निर्वाचनमा नेमकिपा निर्णायक

काठमाडौं । वैशाख ३० गते भएको निर्वाचनको परिणामले भक्तपुरमा जिल्ला समन्वय समिति गठन गर्न नेपाल मजदुर किसान पार्टी निर्णायक बनेको छ ।

चार वटा नगरपालिका रहेको भक्तपुरमा कुनै पनि दलको एकल बहुमत नभएपछि २ मत रहेको नेमकिपा निर्णायक भएको हो । उसले भक्तपुर नगरपालिकामा मेय र उपमेयर जितेको हो ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि भक्तपुरमा आठ जना मतदाता रहेका छन् । जसमा नेमकिपाको २, नेकपा एमाले र सत्ता गठबन्धनका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग समान ३–३ मत रहेका छन् ।

एमालेले सूर्यविनायक नगरपालिकामा मेयर र उपमेयर तथा चाँगुनाराणमा उपमेयर जितेको छ । कांग्रेसले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकामा मेयर जित्दा माओवादीले मध्यपुर थिमिमा उपमेयर जितेको हो ।

एमाले र सत्ता गठबन्धनको समान मत रहेकाले दुई पक्षले नेमकिपासँग जिसस निर्वाचनको लागि तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् । एमाले र सत्ता गठबन्धन दुवै नेमकिपालाई जिसस प्रमुख दिन तयारसमेत भएका छन् ।

‘हामी सबै विकल्पमा खुला छौं’, कांग्रेस र एमालेका जिल्ला नेतृत्वले एकै स्वरमा भने, ‘त्यसैले चुनावी तालमेलको लागि छलफल अघि बढाएका छौं ।’

कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले आफूहरुसँग बहुमत नभएकाले नेमकिपासँग छलफल अघि बढाएको जानकारी दिए । उनले प्रतिगमनको बाटो समाएको एमालेसँग भने आफूहरुको चुनावी तालमेल नहुने बताए ।

‘भक्तपुरमा नेमकिपासँग धेरै कुरामा सहकार्य हुँदै आएको छ’, सभापति थापाले भने, ‘यस हिसाबले जिल्ला समन्वय समिति निर्वाचनमा उसँगै तालमेल गर्नेबारे छलफल भइरहेको छ ।’

२०५५ सालमा भएको तत्कालीन स्थानीय निकाय निर्वाचनमा समेत कांग्रेस र नेमकिपाले जिल्ला विकास समितिको निर्वाचनमा तालमेल गरेका थिए । त्यसबेला नेमकिपाबाट गोविन्द दुवाल जिल्ला सभापति र कांग्रेसबाट उपसभापतिमा रमेश श्रेष्ठ निर्वाचित भएका थिए । बाँकी इलाका सदस्यहरुमा राप्रपासँग तालमेल गरेका थिए । त्यसबेला राप्रपाबाट जिल्ला विकास समितिको इलाका सदस्य भएका वासुदेव थापा अहिले एमाले सूर्यविनायक नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

तत्कालीन जिल्ला सभापति गोविन्द दुवाल यस वर्ष भएको स्थानीय तह निर्वाचनमा भक्तपुर नपा वडा नं ६ बाट वडा सदस्यमा निर्वाचित भएका छन् । अघिल्लो पटकसमेत दुवाल वडा सदस्य निर्वाचित भए पनि नेमकिपाले भक्तपुर नपामा मात्रै जित हात पारेका जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा हरिरत्न गोर्खाली र कमला गिरीको उम्मेदवारी दर्ता गरेको थियो ।

यसपटक आफू निर्णायक भएपछि नेमकिपाले कांग्रेस वा एमालेसँग जिल्ला समन्वय समितिको प्रमुख नै मागेको बुझिएको छ ।

एमाले भक्तपुरका जिल्ला अध्यक्ष वचन देउजाले जिल्ला समन्वय समितिको निर्वाचनको लागि नेमकिपा र राप्रपासँग छलफल अघि बढाएको जानकारी दिए । उनले सहमतिमा भागबन्डा भए नेमकिपालाई प्रमुख दिने सम्बन्धमा एमाले खुला रहेको बताए ।

जिल्ला समन्वय समितिको निर्वाचनको लागि तालमेल गर्न छलफल अघि बढाए पनि दलहरुले समितिमा पठाउने जनप्रतिनिधिबारे भने निर्क्याेल गर्न सकेका छैनन् ।

कांग्रेस जिल्ला सभापति थापा र एमाले जिल्ला अध्यक्ष देउजाले सहमति नभइसकेकाले ककसलाई समितिमा पठाउनेबारे कुनै निर्णय नभएको जानकारी दिए । दलहरुबीच सहमति हुनेवित्तिकै जिससमा जाने प्रतिनिधिहरुको नाम टुंगिने उनीहरु बताउँछन् ।

जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख र सात सदस्य गरी नौ सदस्यीय हुने व्यवस्था छ । जसमा एक दलित महिला अनिवार्य रहेको छ । एकै दलबाट उम्मेदवारी दिँदा प्रमुख र उपप्रमुखमध्ये एक महिला पनि अनिवार्य गरिएको छ । यसअघि जिससमा एमालेको एकल बहुमत थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर