उद्योगमन्त्रीले ओलीविरुद्ध बोलेपछि एमालेको नियमापत्ति, संसद बैठक १५ मिनेटलाई स्थगित (भिडिओ) – Nepal Press

उद्योगमन्त्रीले ओलीविरुद्ध बोलेपछि एमालेको नियमापत्ति, संसद बैठक १५ मिनेटलाई स्थगित (भिडिओ)

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीविरुद्ध रोष्टमबाट अभिव्यक्ति दिएपछि एमालेका सांसदले आपत्ति जनाएका छन् ।

एमालेका सांसदहरूले उठेर नियमापत्ति जनाउँदै आपूर्तिमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै अवरोध सिर्जना गरेपछि प्रतिनिधिसभाकाे बैठक १५ मिनेटलाई स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरूलाई बस्न आग्रह गर्दा नमानेपछि बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरू हुनासाथ सभामुख सापकोटाले उद्योगमन्त्रीलाई सार्वजनिक महत्वको विषयमा बोल्न समय मागेको भन्दै समय दिएका थिए ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जानकारी दिन रोष्ट्रममा उभिएका बडूले बिहीबारको बैठकमा प्रमुख विपक्षी दलका नेताले आधारहीन आरोप लगाएको भन्दै आपत्ति जनाए । मूल्यवृद्धिबारे भ्रामक प्रचारको जवाफ दिन्छु भन्दै उभिएका बडूले प्रमुख प्रतिपक्ष दलका नेताले गरेका टिप्पणीप्रति सरकारको र मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको बताए । उनले ओलीको अभिव्यक्तिलाई अराजनीतिक, भ्रामक र खेदजनक टिप्पणी भनेपछि एमालेका सांसदहरू नियमापत्ती गर्दै उठेका थिए ।

प्रमुख विपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराई र सांसद खगराज अधिकारीले उभिएर निमापत्ति जनाएका हुन् । अधिकारीले स्तरहीन गालीगलौज गर्न नपाइने नियम रहेको भन्दै मन्त्रीले बोलेको कुरा फिर्ता लिनुपर्ने बताए । उनले रेकर्ड खोलेर हेरियोस् भन्दै आपत्ति जनाएपछि पनि बडू अझ आक्रोशित बनेर आफू प्रधानमन्त्री भएको बेला कमिसनमा रमाएको व्यक्तिले सधैँ त्यस्तै देख्ने भन्दै अभिव्यक्ति दिएपछि एमाले सांसदहरू थप आक्रोशित भएका थिए । मन्त्रीले गम्भीर र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै जथाभावी बोल्ने अधिकार कमिसनखोर मन्त्रीलाई नभएको बताए ।

एमाले सांसदहरूको विरोधपछि सभामुख सापकोटाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले विशेष समय लिएर मन्त्रीले व्यक्त गरेका भाषा आपत्तिजनक र नियमावलीविपरीत रहेको भन्दै माफी मागेर बोली फिर्ता नलिए सदन अघि बढ्न नसक्ने बताए । विवाद जारी रहेपछि सहमति खोज्न बैठक स्थगित भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर