पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै एमाले नेताबीच आरोप प्रत्यारोप


सुर्खेत । स्थानीय निर्वाचन सकिएसँगै अहिले दलहरू आन्तरिक समीक्षामा रहेका छन् । यसैबीच सुर्खेतको सिम्तामा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै एमालेका दुई नेताबीच आरोप प्रत्यारोपको अडियो सार्वजनिक भएको छ ।
एमाले नेता डन्डीप्रसाद शर्मा र एमाले जिल्ला कमिटी सुर्खेतका सचिव कवीन्द्रकुमार केसीबीच संवाद भएको अडियो सार्वजनिक भएको हो ।
पालिकाको वडा नं.६ काफलकोटमा वडा सदस्य उम्मेदवार बनेका पूर्णप्रसाद शाहीलाई हराउन डन्डी प्रसाद शर्मा, प्रकाश शर्मा, प्रेम थापा, घनश्याम बस्नेत ‘सानो’, र रेशम बस्नेत लगायतको भूमिका रहेको केसीको आरोप छ ।
शाहीले वडा सदस्य उम्मेदवार बनेर जिल्ला समन्वय समितिमा आउन खोजेका थिए । तर उनलाई वडामै हराएको सचिव केसीको आरोप छ ।
निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका केसीले उक्त वडामा एमालेलाई आउनुपर्ने चार सय भोट नआएको बताएका छन् ।
‘उहाँको पालिका हराउने योजना थियो । काप्रिचौर र राकममा कांग्रेस जितेको छ भने हामीले हारेका छौँ । उहाँका मान्छेले पालिका अध्यक्ष ऐनबहादुर चन्दलाई हराउन खोजेका छन् । सचिव केसीमा आफू पालिका अध्यक्षको टिकट नपाएको झोक कायमै छ ।’ आरोपित एमाले नेता शर्माले भने ।
यसबारेमा कुरा गर्न खोज्दा केसीको फोन उठेन ।
एमाले नेता शर्मा एमाले सुर्खेतको जिल्ला अध्यक्षमा चुनाव लडे पनि अमृत बिसीसँग पराजित भएका थिए ।