मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह
जेनेभा । विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ ।
उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् ।
‘हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा संक्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,’ डब्लूएचओका अधिकारीको भनाइ छ ।
मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदैं गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।
यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि संक्रमण छिटो-छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।
डब्लूएचओका उच्च अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् ।